बाँकेमा मुस्लिम समुदायका अगुवाले लगाए दसैंकाे टीका

न्भेष्टाेपेपर । कात्तिक ८, २०८०

बाँके । सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन् । मंगलबार हिन्दूहरूको पर्व बडादसैंका अवसरमा मुस्लिम अगुवाहरूले धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका हुन् । 

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैंको टीका र जमरा लगाएउनु भएकाे छ। उहाँले दसैं, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैं यसरी नै मिलेर मनाउने गरेको बताउनुभयाे । ‘हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूहरुको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ,’ उहाँले भन्नुभयाे, ‘मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ । टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने ?’

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर रमाउने गरेको बताउनुभयाे । बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उहाँको भनाइ छ ।

सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैंमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गर्नुभएकाे छ । उहाँले आफूले टीका र जमरा ग्रहण गरेपश्चात आफूभन्दा सानालाई टीका लगाउनुभएकाे थियाे । सिद्धिकी वर्षौँदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आइरहनुभएकाे छ । पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको उहाँको भनाइ छ । हिन्दूले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दूको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्धिकीले बताउनुभयाे।

अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंमा टीका र जमरा लगाएर आशीर्वाद लिनुभएकाे छ । रहमान मियाँले दुवै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताउनुभयाे ।

बडादसैंका दिन मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दसैंको शुभकामना दिनुभएकाे थियाे । एकताका र सद्भावका लागि दुवै समुदायका धर्म गुरुले संयुक्तरुपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गर्नुभएकाे छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *