एक ऐतिहासिक टोपी जुन करीब २८ करोडमा बिक्याे

न्भेष्टाेपेपर । मंसिर ८, २०८०

नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ।

प्यारिस अक्सनका क्रममा १९औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको ‘ह्याट’ २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ।

अधिकांश समय उनले लगाउने गरेको यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन छ लाख देखि आठ लाख युरो गरिएको थियो। यो टोपी किन्ने व्यक्तिले आफ्नो परिचय सार्वजनिक गरेका छैनन्।

इतिहासकारहरूले यो टोपी उनको ब्रान्ड जस्तै बनेको बताएका छन्। नेपोलियनले यसलाई ढल्काएर लगाउँथे र युद्धका क्रममा उनलाई टाढैबाट पहिचान गर्न सकिन्थ्यो।

उनले आफ्नो जीवनकालमा १२० वटा जति यस्ता टोपी प्रयोग गरेका थिए। यद्यपि त्यसमध्ये २० वटा मात्रै बाँकी रहेको र अधिकांश निजी सङ्कलनमा रहेको बताइन्छ।

गत वर्ष मृत्यु भएका एक जना उद्योगपतिले सङ्कलन गरेका नेपोलियनसँग सम्बन्धित स्मरणीय सामग्रीहरूसँगै यो टोपी पनि बिक्रीका लागि राखिएको थियो। यसको बिक्रीमा संलग्नहरूले यो टोपी खास रहेको र पाउन कठिन रहेको बताएका थिए।

नेपोलियनले यो टोपी लगाउने शैली पनि उनका अन्य अफिसरहरूले लगाउने भन्दा भिन्नै हुने गर्थ्यो। दुई तर्फ चुच्चो परेको र त्रिरङ्गी ब्याच भएको फ्रान्सेली शासकको उक्त “ब्ल्याक बिभर” ह्याट फ्रान्सको प्यारिस स्थित ओसेनट अक्सन हाउसमा बिक्रीका लागि राखिनु अघि प्रदर्शनीमा राखिएको थियो।

यसको बिक्री गर्ने जँ पिएर ओसेनट भन्छन्: “मानिसहरूले जहाँ पनि यो टोपी चिन्थे। उनीहरूले युद्धमैदानमा यो देख्नासाथ नेपोलियन त्यहाँ छन् भन्ने थाहा पाउँथे।” “उनी एकान्तमा रहँदा पनि यो टोपी या त उनको शिरमा हुन्थ्यो या त उनको हातमा हुन्थ्यो। कतिपय अवस्थामा उनले यसलाई भुईँमा पनि फालिदिन्थे। त्यो नै ती सम्राट्को छवि र प्रतीक थियो।”

यसका बिक्रीकर्ताहरूले नेपोलियनको दरबारमा क्वार्टरमास्टर भएर काम गरेका व्यक्तिको परिवारमा यो दुर्लभ टोपी १९ औँ शताब्दीभरि रहेको बताएका छन्।

यो टोपी बिक्रीका लागि राखिएको ओसेनट अक्सन हाउसमा सन् १८१५ मा नेपोलियनले भूमध्यसागर पार गर्ने क्रममा लगाएको कोकेड पनि टाँसिएको छ। उनी त्यसबेला हाल इटलीमा रहेको एल्बामा निर्वासन बिताएर फ्रान्सको एन्टिब फर्किएका थिए र छोटो समय सत्तामा पनि रहेका थिए।

यहाँ बिक्रीमा राखिएका अन्य सामग्रीहरूमा सन् १८१५ मा वाटरलूमा उनी पराजित भएपछि नेपोलियनको बग्गीबाट लुटिएको रजत प्लेट, उनको एउटा काठको कन्तुर, दाँत माझ्ने चाँदीको ब्रस, कैँची र अन्य सामग्रीहरू छन्।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *