एक गिलास पानी एकसय तीस रुपियाँमा विक्री गरेर पर्यटकमाथि लुट

न्भेष्टाेपेपर । मंसिर २०, २०८०

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको पुन हिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ । स्थानीय जनप्रतिनिधि र प्रशासनसँगको मिलेमतोमा व्यपारीहरुले पर्यटकले पानी लैजान नपाउने व्यवस्था गरी महँगोमा पानी किन्न लगाएर लुट मच्चाउने गरेको हो । 

पुनहिल पुगेका पर्यटकले त्यहाँ सञ्चालन भएको टिहाउसबाट महँगोमा पानी किनेर पिउनुपर्ने नियम बनाएको छ । पुनहिल जाँदा थर्मसमा आफै तातोपानी बोकेर लैजान नपाएको पर्यटकहरूले गुनासो गरेका छन् । घोडेपानीका स्थानीयहरूले पुनहिल सञ्चालन गर्दा बनाएको वर्षौँदेखिको नियमलाई अहिले गाउँपालिकाले पनि कायम राखेको छ । 

घोडेपानीदेखि करिब ४५ मिटरको पदयात्रापछि पुगिने तीन हजार दुई सय १० मिटरको उचाइमा रहेको पुनहिलको भ्रमणमा जाने आन्तरिक एवम् विदेशी पर्यटकले आफै तातोपानी बोकेर लैजान बन्देज गरिएको हो । कसैले पानी लिएर गएमा तीन हजार रुपियाँसम्म जरिवाना तोकिएको छ । 

पानीको थर्मस, आगो बाल्ने ग्याँसलगायतका सामग्रीहरू लैजान नपाइने सूचना पुनहिल प्रवेश गर्ने प्रवेशद्वारमा टाँस गरिएको छ । पुनहिलमा सञ्चालन गरिएको टिहाउसबाट नै पानी किनेर पिउनुपर्दछ । एक गिलास तातोपानीको मूल्य एक सय तीस रुपियाँ कायम गरिएको छ ।   

सुन्दर ठाउँ भए पनि यहाँको नियम पर्यटकमैत्री लागेन पोखराबाट पुनहिलको भ्रमणमा आउनुभएका अनिल गुरुङले भन्नुभयो, ‘‘आफूलाई आवश्यक पर्ने तातोपानी आफैँ लैजान नपाइने नियम रहेछ । यो नियम पर्यटकमैत्री भएन,यो त सिन्डिकेट भयो । यहाँ बिहानीपख अत्यधिक चिसो भएकाले पर्यटकले थर्मसमा तातोपानी लिएर आउन पाउनुपर्दछ ।’’ पर्यटकमैत्री नभएको नियमलाई खारेज गर्न सरोकारवाला पक्षलाई उहाँले अनुरोध गर्नुभयो । फेरि अर्को पटक पुनहिल आउँदा यो नियम बदलिएको होस् उहाँको भनाइ थियो । 

पर्यटकीय स्थलमा प्रवेश शुल्क लिन र कफीसफ तथा रेस्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित गाउँपालिकाले चालु आर्थिक वर्षमा ६३ लाख ११ हजार रुपियाँमा आय ठेक्कामा लगाएको छ । पुन हिलमा प्रवेश गर्न आन्तरिक पर्यटकले पचास र विदेशी पर्यटकले एक सय पचास रुपियाँ शुल्क गाउँपालिकाले कायम गरिदिए पनि पानी, चिया, कफीको शुल्क निर्धारण गरेको छैन।

पर्यटकले पुन हिलमा पानी लगायतका सामग्री लैजान नपाउने नियम पहिलादेखि नै चलिआएको पुनहिल र टिहाउस सञ्चालनका लागि ठेक्कामा लिनुभएका विरेन पुनले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘प्रवेश शुल्क उठाउन र टिहाउस सञ्चालनका लागि हामीले गाउँपालिकालाई ठुलो रकम बुझाएका छौं । पर्यटकले आफैँले पानीलगायतका सामग्री लिएर आउँदा हाम्रो व्यापार नभएपछि कसरी पालिकालाई रकम बुझाउन सक्छौँ ? ।’’ यो विषयमा पालिकाले नै नियम बनाइदिए राम्रो हुने उहाँको भनाइ छ । चिसो ठाउँ छ बिहानै पानी बोकेर ल्याउनुपर्ने भएकाले पानी, चिया र कफीको मूल्य धेरै भएको उहाँको भनाइ छ । यहाँ चिया र कफीको किसिम अनुसार एक सय पचासदेखि दुई सय पचास रुपियाँसम्म मूल्य निर्धारण गरिएको छ । 

यो वर्ष पर्यटक आगमनमा कमी भएकाले ठेक्कामा घाटा लाग्ने देखिएको छ  सञ्चालक पुनले  भन्नुभयो, ‘‘गाउँपालिकाले ठेक्काको रकम घटाउने, शुल्कमा कमी गर्ने र पर्यटकलाई पानी लैजान दिने नियम बनाउन हामी सकारात्मक छौँ ।’’ पर्यटकलाई सहज हुने गरी नियम बनाउन हामीलाई कुनै समस्या छैन उहाँले भन्नुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *