देशमै पहिलो पटक चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण

न्भेष्टाेपेपर । पुस १८, २०८०

इलाम ।  विदेशी मुद्रा आर्जनका लागि महत्त्वपूर्ण मानिने नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवर्द्धन केन्द्रको निर्माण सम्पन्न भएको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा केन्द्रको निर्माण गरिएको हो । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण गरिएको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठुलो सहयोग पुग्ने अपेक्षा लिइएको छ । 

कूल १५ करोड २३ लाख रुपियाँको लगानीमा निर्माण गरिएको केन्द्रको पाँच वटा ‘ब्लक’ त्यसभित्र म्युजियम, क्यान्टिन, कप टेस्टिङ, सेमिनार हल र प्रयोगशालाको निर्माण गरिएको जनाइएको छ । भवन निर्माण पछि प्रयोगशालाका सामग्री, मेशिनहरू र अन्य आवश्यकीय व्यवस्थापन गरिने सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राईले बताउनु भयो । ‘सबै मेशिन तथा सामग्रीहरू जडान भइसक्दा करिब २३ करोड रुपियाँ भन्दा बढी हुन्छ ।’ राईले भन्नुभयो ‘यो योजना प्रदेशको गौरवको योजना हो ।’

विसं १९२० मा इलामबाट रोपण शुरु गरिएको नेपाली चियाको इतिहासमै पहिलो पटक चियाका लागि निर्माण गरिएको यो केन्द्रलाई निकै महत्वका साथ हेरिएको  प्रमुख राई बताउनु हुन्छ । केन्द्र सञ्चालनमा आएपछि नेपाली चियाको गुणस्तर मापन, परीक्षण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि सहयोग पुग्ने राईको भनाइ छ । ‘केन्द्र सञ्चालन पछि परिक्षणकालागि मान्यता प्राप्त निकायबाट स्वीकृति लिएर नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा पठाउन सहज बनाउने लक्ष्य छ,’ नगरप्रमुख राईले भन्नुभयो–‘नेपाली अर्थोडक्स चियाका सबै उत्पादनको परीक्षण हुनेछ,  अर्थोडक्स चियाको टेस्टिङका लागि कुनै मेला नै कुर्न पर्दैन, विदेशी खरिदकर्ताहरू चियाको गुणस्तर हेर्न र बुझ्न यहीँ आउनेछन् । 

उनीहरूलाई यहीँ बोलाएर अन्तर्राष्ट्रिय बजारमा चिया पठाउन सहज बनाइने छ ।’  राईले धेरै उद्योगहरूले उत्पादन गरेको तयारी चियालाई यहाँ स्टल राखिने र यसले चियाको प्रचार–प्रसार तथा बजारीकरणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।

  यता नेपालमा उत्पादित चियालाई स्वदेशमै विषादी तथा गुणस्तर परीक्षण गर्न नसक्दा लाखौँ रुपैयाँ खर्च गरेर भारतमा परीक्षणका लागि पठाउनु पर्ने बाध्यता थियो । चिया परीक्षणका लागि पठाएपछि भारतबाट परीक्षणको नतिजा समयमा नआउँदा चिया बोकेका कन्टेनरहरू काँकडभिट्टा नाकामा हप्तौँ दिनसम्म थन्किने गरेका थिए । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *