राष्ट्रिय सभा चुनाव : २ गतेदेखि आचारसंहिता लागू हुने, उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

न्भेष्टाेपेपर । माघ १, २०८०

काठमाण्डाै । निर्वाचन आयोगले आउँदाे माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि भाेली २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।

माघ २ गतेदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गर्ने निर्णय गरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निकाल्नुभएको विज्ञप्तिमा आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नपाइने उल्लेख छ । यस्तै प्रचारप्रसार लगायतका कुरामा पनि आयोगले गर्न नहुने कुराहरूको सूची प्रकाशन गरेको छ ।

कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी चुनावसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने विज्ञप्तिमा उल्लेख छ । यस्तै राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने कानुनी व्यवस्था छ ।

साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी चुनाव प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पाइँदैन ।

आचारसंहिताअनुसार प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र ठाउँमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी चुनाव प्रचारप्रसार गर्न वा गराउन पाइँदैन । यस्तै सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, चुनावलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिप्पणी गर्न वा गराउन नहुने विज्ञप्तिमा भनिएकाे छ ।

उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने

यसैगरि निर्वाचन आयोगले आउँदाे माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।

उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेकाे आयाेगले जनाएकाे छ ।

याे खर्च मतदाता नामावली खरिद, गाडी तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले आज निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *