सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने

भेरीगङ्गा, सुर्खेत । सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद्को सहयोगमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा यही वैशाख २७ र २८ गते वीरेन्द्रनगरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको हो ।

खोज अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले कर्णालीमा पहिलोपटक युवा वैैज्ञानिक सम्मेलन गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ । सम्मेलनमा सातवटै प्रदेशबाट युवा वैज्ञानिकलाई सहभागी गराइने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा प्रमुख जहारलाल हमालले जानकारी दिनुभयो ।

“विज्ञानको क्षेत्रमा भएका अध्ययन, अनुसन्धानलाई एक ठाउँमा ल्याएर अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्ने एउटा पाटो हो, उहाँले भन्नु्भयो, “अर्को भनेको युवा वैज्ञानिकहरूलाई एक ठाउँमा भेला गराएर अनुभव आदान–प्रदान गरी उनीहरुका अध्ययन, अनुसन्धानलाई अझै फराकिलो बनाउँदै विज्ञानको क्षेत्रमा चासो बढाउनु कार्यक्रमको उद्देश्य हो ।” 

सम्मेलनमा सहभागी हुन चाहने १६ देखि ४० वर्ष समूहका वैज्ञानिकहरुले वैज्ञानिक खोज, अनुसन्धान, सर्वेक्षण आफ्नो वायोडाटासहित पठाउन आग्रह गरिएको छ । प्राप्त निवेदन अध्ययन गरी युवा वैज्ञानिकहरूलाई सम्मेलनमा सहभागी गराइने हमालले बताउनुभयो ।

यो सम्मेलनले युवा वैज्ञानिकहरूलाई खोज अनुसन्धानमा लाग्नका लागि अझै प्रेरित गर्ने मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सुदीप ठकुरीले बताउनुभयो । “कर्णालीमा राष्ट्रियस्तरको पहिलोपटक युवा वैज्ञानिक सम्मेलन हुँदैछ, यसले हाम्रा विज्ञान क्षेत्रका विद्यार्थीलाई खोज अनुसन्धान गर्नका लागि प्रेरित गर्ने अपेक्षा छ”, उहाँले भन्नुभयो । सम्मेलनले विज्ञान क्षेत्रलाई अझै सघाउ पुग्ने भन्दै सबै युवा वैज्ञानिकलाई सहभागिता जनाउन उहाँले आग्रह गर्नुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *