त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरी विन्दुबाट हवाइजहाज अवतरण खुला

न्भेष्टाेपेपर । असार ४, २०८१

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको उत्तरी विन्दु (रनवे टु जिरो) बौद्धतर्फबाट जहाज अवतरणमा लगाइएको रोक हटाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको धावनमार्गको एक छेउदेखि अर्को छेउसम्म (उत्तर–दक्षिण) जोड्ने ट्याक्सीवे विस्तारको काम सकिएपछि उत्तरी विन्दुतर्फबाट आन्तरिकतर्फका जहाजलाई अवतरणमा लगाइएको रोक हटाइएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रावधान अनुसार एरोनटिकल इन्फर्मेसन पब्लिकेसनमा तीन महिनाका लागि सूचना जारी गरेर विस्तारको काम ७७ दिनमा सम्पन्न भएपछि सोमबारदेखि धावनमार्ग पुरानै अवस्थामा सञ्चालनमा आएको जानकारी दिनुभयो । धावनमार्गको एक छेउदेखि अर्को छेउसम्म (उत्तर–दक्षिण) जोड्ने ट्याक्सीवे विस्तार गर्न गत चैत १९ देखि असार १६ गतेसम्म उत्तरी दिशाबाट हुने ठुला जहाजको अवतरणमा रोक लगाइएको थियो ।

तीन हजार ५० मिटर लामो धावनमार्गमा ट्याक्सीवे जोड्ने क्रममा धावनमार्गको लम्बाइ (अस्थायी रूपमा) २३६ मिटर घटाएर ट्याक्सीवे विस्तारको काम सुरु गर्दा ठुला जहाजलाई धावनमार्ग नपुग्ने भएपछि बौद्धतर्फबाट अवतरणमा रोक लगाइएको थियो । उहाँले सोमबारदेखि आन्तरिक तर्फका वायु सेवाले बौद्धतर्फबाट आँखाले हेरेर गर्दै आएको भिएफआर (भिजुअल फ्लाइट रुल्स) उडान तथा अवतरण र पर्वतीय उडान खुला गरिएको जानकारी दिनुभयो । उहाँले धावनमार्ग पूर्ण प्रयोगमा आएपछि एयर बस ए–३३० र बोइङ ७८७ विमान सञ्चालनमा पर्दै आएको भारवहन क्षमताको असरसमेत हटेर पूर्ववत् रूपमा खुला भएको बताउनुभयो ।

सूचना अधिकारी भुलका अनुसार यसअघि धावनमार्ग प्रवेश गर्ने ट्याक्सीवे पाँच वटा रहेकामा विस्तारपछि दुई वटा नयाँ ट्याक्सीवे थप भएर सात वटा पुगेका छन् । उहाँले धावनमार्गमा छिरेका जहाजलाई उडान गर्न करिब चार मिनेट लाग्ने गरेकामा अब एक÷डेढ मिनेट मात्र लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसअघि प्यारालाल ट्याक्सीवे नहुँदा सबै जहाजले धावनमार्गबाट टेक अफ गर्दै आइरहेका थिए । यो समयमा अरू जहाज उडान अवतरण गर्न पाउँदैन थिए । प्यारालल ट्याक्सीवे विस्तारपछि अब जहाजहरू यसबाट नै उडानका लागि क्युमा जान सक्ने भएकाले यसले विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि भएको छ । साथै आकाश र जमिनमा हुने उडान ढिलाइसमेत घटेको छ ।” अबदेखि अन्तर्राष्ट्रिय एप्रोनमा पस्न र निस्कीन ठुला जहाजले नयाँ ट्याक्सीवे प्रयोग गर्ने उहाँले जानकारी दिनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *