काठमाण्डाैँ उपत्यकाको पानीमा आर्सेनिक बढी

न्भेष्टाेपेपर । भाद्र १८, २०८१

काठमाडौँ ।  काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । काठमाडौँ उपत्यकाको दक्षिण–पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यले यसअघि प्रायः तराईका जिल्लाको पानीमा निर्धारित मापदण्डभन्दा बढी भेटिने आर्सेनिक काठमाडौँ उपत्यकामा समेत भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा ललितपुरको इमाडोल, टीकाथली, बाँझेपोखरी, सानेपा, काठमाडौँको बल्खु, स्युचाटार र भक्तपुरको बालकोट क्षेत्रको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको हो ।  काठमाडौँको अन्य क्षेत्रको पानीमा अहिलेसम्म मापदण्डभन्दा बढी आर्सेनिक नभेटिएको उहाँले स्पष्ट पार्नुभयो । 

सहसचिव आचार्यले काठमाडौँको पानीमा न्यूनतम एकदेखि अधिकतम दुई सय पिपिबीसम्म आर्सेनिकको मात्रा भेटिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार खानेपानीमा आर्सेनिकको मात्रा प्रतिलिटर पचास पिपिबीसम्म हुनु पर्छ । विश्व स्वास्थ्य सङ्गठनले खानेपानीमा आर्सेनिकको मात्रा प्रति लिटर दस पिपिबीसम्म निर्धारण गरेको छ ।”

उहाँले भन्नुभयो, “तराईको स्यालो ट्युबवेलको पानीमा आर्सेनिकको मात्रा बढी भेटिए पनि काठमाडाँैको ‘डिप ट्युबवेल’ मा आर्सेनिकको मात्रा मापदण्डभन्दा बढी भेटिएको हो ।” उहाँले यी क्षेत्रका स्यालो ट्युबवेल र ‘डिप ट्युबवेल’ को पानी परीक्षणका क्रममा पानीमा आर्सेनिकको मात्रा बढी पाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यी क्षेत्रको पानीको परीक्षण पहिला विभिन्न प्रयोगशालामा गर्दा आर्सेनिक भेटिएपछि त्यसको पुनः प्रमाणीकरणका लागि पानीपोखरीस्थित केन्द्रीय पानी प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यहाँ पनि परीक्षणका क्रममा निर्धारित मापदण्डभन्दा बढी आर्सेनिक रहेको प्रमाणित भएको थियो । ‘डिप ट्युबवेल’ को पानी नखान आर्सेनिक भेटिएको क्षेत्रमा सचेतना फैलाइएको सहसचिव आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मापदण्डभन्दा बढी आर्सेनिक भएको पानी पिउने प्रयोजनका लागि प्रयोग गर्न मिल्दैन तर नुहाइधुवाइ, सरसफाइलगायतको प्रयोजनका लागि प्रयोग गर्न मिल्छ ।” संयुक्त राज्य अमेरिकाको ‘इपिआई स्ट्यान्डर्ड’ ले समेत दुई सय पिपिबीसम्म आर्सेनिक भएको पानीले नुहाइधुवाइ गरेमा केही असर नगर्ने निर्धारण गरेको उहाँको भनाइ छ । सहसचिव आचार्यका अनुसार तराईको ट्युबवेलको पानीमा प्रति लिटर १४ सय पिपिबीसम्म आर्सेनिक भेटिएको छ । नवलपरासी पश्चिमका २७ प्रतिशत ट्युबवेलको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको हो । मधेश प्रदेशका सात जिल्लामध्ये महोत्तरीमा आर्सेनिक नभेटिएको उहाँले जानकारी दिनुभयो । रौतहट, नवलपरासी, बर्दिया र कैलालीको पानीमा बढी आर्सेनिक भेटिएको हो । उहाँले भूमिगत पानीमा मात्र आर्सेनिक पाइने बताउँदै सतहको पानी, खोलाको पानी र मूलको पानीमा आर्सेनिक नहुने स्पष्ट पार्नुभयो । याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *