आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

न्भेष्टाेपेपर । असाेज २६, २०८१

काठमाण्डाैँ । आज बडादशैँको मुख्य दिन, विजयादशमी । असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ ।आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ ।

विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत निकालेको छ ।

यस्तै बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने साइत छ । साइत नखोज्ने र साइतमा लगाउन नभ्याउनेहरुले आज दिनभर नै टीका लगाउन मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । त्यस्तै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरू गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आउँदो ३० गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *