युक्रेनले दुर्लभ खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने

न्भेष्टाेपेपर ।  फागुन १४, २०८१

पछिल्लो समय चर्चामा रहेको अमेरिका र युक्रेनबीचको खनिज सम्झौताका सर्तहरूमा सहमति भएको किएभका एक वरिष्ठ अधिकारीले बताएकाे बीबीसीले उल्लेख गरेकाे छ।

सञ्चारमाध्यमहरूमा आएका विवरणका अनुसार अमेरिकाले पाँच खर्ब अमेरिकी डलरबराबरको युक्रेनी प्राकृतिक स्रोतसाधनमा आफ्नो अधिकार दाबी गरेको छ। तर त्यसको बदलामा अमेरिकाले युद्धग्रस्त युक्रेनको प्रमुख चासो रहेको सुरक्षा ग्यारेन्टी सुनिश्चितता गरेको छैन।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की यसैसाता सम्झौतामा हस्ताक्षरका लागि वाशिङ्टन आउने बताएका छन्। यसअघि दुई नेताले एकअर्काको खरो आलोचना गरेका थिए। सम्झौता हुन लागेको पुष्टि नगरे पनि ट्रम्पले त्यसको बदलामा युक्रेनले “लडाइँ जारी राख्ने हक राख्ने” बताए।

मङ्गलवार ट्रम्पले अमेरिकाले युक्रेनलाई तीन खर्बदेखि तीन खर्ब ५० अर्ब डलर दिएको र उक्त पैसा फिर्ता चाहेकाे बताएका छन् ।

युक्रेनी समाचार वेबसाइट ‘युक्रेन्स्का प्राभ्दा’का अनुसार युक्रेनी विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीले खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तय भएको छ। उक्त समाचारसंस्थाका अनुसार दुई देशबीच पुनर्निर्माण लगानी कोष बनाउने पनि सहमति भएको छ।

युक्रेनसँग मूल्यवान् खनिजहरूको ठूलो भण्डार छ। यो देशसँग खर्बौ डलर मूल्य बराबरको लिथिअम तथा टाइटानिअमसँगै उल्लेख्य मात्रामा कोइला, ग्यास, तेल तथा युरेनिअम भण्डारण छ। किएभले आफूसँग विश्वमा पाइने पाँच प्रतिशत “महत्त्वपूर्ण कच्चा खनिज” युक्रेनमा रहेको आकलन गरेको छ।

त्यसमा एक करोड ९० लाख टन ग्राफाइट पनि समावेश छ। युक्रेनको भूगर्भ सर्वेक्षण निकायले यो खनिजको आपूर्तिमा युक्रेन “विश्वमै प्रमुख पाँच देशमध्ये पर्ने” बताएको छ। ग्राफाइट विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याटरी बनाउन प्रयोग हुने गरेको छ।

युक्रेन लिथिअमको भण्डारणमा पनि युरोपमै तेस्रो धनी देश हो। अहिले प्रयोग हुने ब्याटरीहरूमा यो खनिज प्रयोग हुने गरेको छ।

यसबाहेक युक्रेनसँग ‘रेअर अर्थ’ भनिने दुर्लभ खनिजहरू पनि छन्। हतियार, वायु टर्बाइन र विद्युतीय उपकरणको निर्माणमा प्रयोग हुने १७ तत्त्वहरूको समूह अहिलेको आधुनिक विश्वमा निकै महत्त्वपूर्ण मानिन्छ।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *