विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो
इन्भेष्टाेपेपर । फागुन ९, २०८२
काठमाडौँ । लोकप्रिय ईभी निर्माता चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ ।
योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक ईभी बन्न सफल भएको कम्पनीको दाबी छ।
नेपालका लागि विवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ ।
‘विवाईडी डल्फिनले ह्याचब्याक सेग्मेन्टमा नयाँ परिभाषा स्थापित गरेको छ, सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारी खोज्ने नेपाली परिवारको पहिलो रोजाइमा डल्फिन बनेकामा हामीलाई निकै खुसी लागेको छ, हामी ईभी इकोसिस्टम विस्तार, उत्कृष्ट बिक्रीपछिको सेवा र नेपाललाई स्वच्छ गतिशीलतामा रूपान्तरण गर्ने यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छौँ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका अनुसार विवाईडीले २०२६ का लागि नयाँ संस्करणको डल्फिन परीक्षण सुरु गरिसकेको छ । जुन हाल चीनमा विकास परीक्षणको चरणमा छ । प्रारम्भिक रिपोर्टहरूका अनुसार नयाँ संस्करणको डल्फिन डिजाइन र ड्राइभिङमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ ।
विश्वव्यापी रुपमा मात्रै विवाईडी डल्फिनको बिक्री नेपालमा पनि उल्लेख्य मात्रामा भइरहेको कम्पनीको भनाइ छ । साइमेक्स इंक प्रालिले नेपालमा सन् २०२३ सेप्टेम्बरमा डल्फिन सार्वजनिक गरेको थियो ।
हाल नेपालका सडकमा २५०० भन्दा बढी डल्फिन गुडिरहेका छन् । नेपालमा ह्याचब्याक सेग्मेन्टको बिक्री घट्दो अवस्थामा हुँदाहुँदै पनि, डल्फिनको आगमनले उपभोक्ताहरूको रुचि पुनः जागृत गरेको छ । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।
