रोजगारीको ‘ग्यारेन्टी’ नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन
इन्भेष्टाेपेपर । असार ३२, २०८३
काठमाण्डाै । श्रममन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितताविनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज उद्योगी व्यवसायीहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।
आउँदो साउनभित्रै रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कार्यान्वयनमा ल्याइने मन्त्री यादवले बताउनुभयो । उहाँले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्नुभयो ।
केवल वार्ता नभई तथ्य र अनुसन्धानमा आधारित पारिश्रमिक तोक्न त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्राध्यापकको नेतृत्वमा ढाँचा तयार भइरहेको उहाँले जानकारी दिनुभयो । यसमा भौगोलिक क्षेत्र, प्रदेश र कार्य दक्षताका चार श्रेणीका आधारमा पारिश्रमिक तय गर्ने लक्ष्य छ ।
देशभर वार्षिक १३ अर्ब रुपैयाँभन्दा धेरै रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको भन्दै मन्त्री यादवले वडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकाहरूलाई पत्राचार गरिने बताउनुभयो ।
निर्माण क्षेत्रमा अहिले झन्डै १९ लाख विदेशी कामदार कार्यरत रहेका तथ्याङ्क प्रस्तुत गर्दै उहाँले स्वदेशी जनशक्तिलाई तालिम दिएर त्यस क्षेत्रमा प्रतिस्थापन गर्ने योजना रहेको सुनाउनुभयाे ।
