कालीगण्डकीको जलसतह बढेपछि डुबानमा रानीमहल क्षेत्र
इन्भेष्टाेपेपर । साउन २१, २०८३
पाल्पा । बुधबार रातिदेखिको निरन्तर वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल बिहीबार बिहानैदेखि डुबानमा परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए ।
पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहरा डुवानमा परेको उनले बताए । प्रहरी चौधी रानीमहलका अनुसार रानीमहलमा डिभिजन वन कार्यालय र तानसेन नगरपालिकाले बनाएको पार्कसम्म नै पानीको सतह पुगेको छ ।
गुल्मी, बाग्लुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मुस्ताङलगायतका जिल्लामा ठूलो पानी परेपछि रानीमहल क्षेत्रमा हरेक वर्ष डुवान हुने गरेको छ । यस क्षेत्रमा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले तटबन्धको काम नगर्दा हरेक वर्ष जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।
वर्षायाम पछि यहाँ पुनः बगर क्षेत्रमै रिर्सोट, होटल र पसल संचालन हुँदै आएको छ । आम्दानी लिने तर यसलाई संरक्षणमा ध्यान नदिएकाले जोखिम बढेको स्थानीयको गुनासो छ । पार्किङ तथा प्रवेश शुल्क दिने तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले संरक्षणमा भने ध्यान दिएको छैन ।
रानीमहल क्षेत्रमा अव्यवस्थित रुपमा होटल, रिर्सोट र पसल संचालन गर्दै आएका छन् । कालीगण्डकी तटमा निर्माण भएको रानीमहलमा सिजनमा दैनिक एक हजारदेखि ३ हजारसम्म पर्यटक जाने गर्छन् । अन्य समयमा समेत यही महल हेर्नका लागि पर्यटक जाने गर्छन् ।
रानीमहल तानसेन नगरपालिका–१३, बौघागुम्हामा पर्छ । तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहल क्षेत्रमा नदी गहिरिँदै गएको छ । कटान गर्दै गएकाले खतरा बढेको सशस्त्र प्रहरीको गोताखोर टोलीको रिपोर्टमा उल्लेख छ । यहाँ नदीले रानीमहलतर्फ बढी क्षति पुर्याउँदै आएको छ । तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा विस १९५१ देखि ५४ सालसम्म यो महल बनाएका हुन् । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।
