ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

इन्भेष्टाेपेपर ।  साउन २४, २०८३

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान र बलिदान रहेको बताउनुभएकाे छ ।

३२ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् सचिवालयद्वारा आइतबार काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आन्दोलनमा योगदान गरेकैले त्यसको मर्म संविधान र राज्यव्यवस्थामा पनि समेटिएको बताउनुभयाे । नेपालको संविधानको मूल मर्म समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसर रहेकाले हातेमालो गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयाे ।

लोकतन्त्र, गणतन्त्र र संघीयताको प्राप्ति आदिवासी जनजातिको अधिकार प्राप्तिको संघर्षसँग गहिरो रूपमा जोडिएको उपराष्ट्रपति यादवको भनाइ थियो । संविधानले आदिवासी जनजाति, मधेसी, सीमान्तकृत तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गरिसकेकाले अब तिनको व्यावहारिक कार्यान्वयन आजको मुख्य आवश्यकता रहेको उहाँले औंल्याउनुभयाे । 

 ‘समावेशिता केबल नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनका साथै शिक्षा, स्वास्थ्य, रोजगारी र निर्णय प्रक्रियाका हरेक तहमा समानुपातिक पहुँचका रूपमा देखिनुपर्छ’, उपराष्ट्रपति यादवले भन्नुभयाे । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै लैजानसके मुलुकले हरेक क्षेत्रमा सकारात्मक फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले यसतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउनुभयाे । 

यस्तै, प्रकृतिसँग मिलेर बाँच्ने आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र संस्कृति जलवायु परिवर्तन तथा वातावरणीय सन्तुलनका लागि आज विश्वकै लागि अनुकरणीय बनेको उपराष्ट्रपति यादवले उल्लेख गर्नुभयाे । नयाँ पुस्ताले आफ्नो मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा, विज्ञान र प्रविधिको आधुनिक प्रयोगमार्फत अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

सबै जातजाति, वर्ग र समुदायको साझा प्रयासबाट मात्र नेपाल सुन्दर, शान्त र उन्नत बन्नसक्ने उल्लेख गर्दै उपराष्ट्रपति यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी जनजाति दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *