प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन नयाँ विधेयक ल्याउँदै छौ : गृहमन्त्री गुरुङ

इन्भेष्टाेपेपर । आश्विन ३०, २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताउनुभएकाे छ । ७१औं प्रहरी दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताउनुभयाे ।

मन्त्री गुरुङले भन्नुभयाे, ‘प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवासुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।’ प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने व्यवस्था मिलाउने काम अगाडि बढिरहेको उहाँले बताउनुभयाे ।

गृहमन्त्री गुरुङले आगामी दिनमा अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धिका साथै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने सोचसमेत अगाडि बढाइने बताउनुभयाे ।उहाँले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको उहाँको भनाइ थियो ।

गृहमन्त्री गुरुङले भन्नुभयाे, ‘हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीको पहिलो बैठक एवं भारतीय समकक्षीसँग भएको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको उपयोगजस्ता विषयमा सहकार्य बढाउन जोड दिएको छु । क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्छ ।’

उहाँले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन दिनुभयाे ।

गृहमन्त्री गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डीएनए फोरेन्सिक तथा डीएनए प्रोफाइलिङजस्ता आधुनिक विषयमा क्षमता बढाउन पनि निर्देशन दिनुभयाे ।

उहाँले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बनाउन आग्रह गर्नुभयाे । ‘नयाँ पुस्ताले सोधेको छ– राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य, मेरो देश, मेरो मातृभूमि नै उज्ज्वल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र तिमीहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले समेत निर्धारण गर्नेछ’, गृहमन्त्री गुरुङले भन्नुभयाे ।

उहाँले विपद् उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता तथा खाजा खर्चको प्रबन्ध भइसकेको तथा हालै नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको जानकारी दिनुभयाे । नेपाल प्रहरीका लागि आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नयाँ सरकार नयाँ जोस, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘नागरिकले राज्यसँग राखेको अपेक्षा पूरा गर्न सरकारको गति र भावनाअनुसार तिमीहरूले समेत व्यावहारिक र व्यावसायिक रूपमा आफूलाई रूपान्तरण गर्दै जान जरुरी छ । अबका दिनमा गुनासो तथा जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखी कार्यसम्पादन गर्नुहोला ।’

उहाँले प्रहरीलाई आफ्नो आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिनुभयाे । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *