सर्त नमाने युद्धको सामना गर्न अमेरिकालाई इरानको चेतावनी
इन्भेष्टाेपेपर । मंसिर ४, २०८३
काठमाडौँ । इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार गर्ने जनाएको छ ।
इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै सम्भावित सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताउनुभएकाे छ । उहाँले पछिल्लो द्वन्द्वपछि इरानको सैन्य क्षमता विस्तार भएको र अमेरिकी सेनाका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको दाबी गर्नुभयाे ।
‘हामी न युद्धको अवस्था स्वीकार गर्छौं, न त युद्ध र शान्तिबीचको अनिश्चित अवस्था । युद्धको विषय एक पटक र सधैँका लागि टुङ्ग्याउनेछौँ । यसको निर्णय युद्धमैदानबाट हुनेछ वा अमेरिकाले इरानका सर्त स्वीकार गर्नुपर्नेछ’, उहाँले भन्नुभयाे ।
बाह्र दिने युद्धपछि इरानले हवाई प्रतिरक्षा प्रणालीलाई बलियो बनाएको र स्वदेशमै कम्तीमा तीनवटा नयाँ प्रणाली विकास गरेको उहाँले जानकारी दिनुभयाे । ती प्रणाली घरेलु आवश्यकताका लागि पर्याप्त हुनुका साथै निर्यातसमेत भइरहेको उहाँको दाबी छ । इरानले चार हजार ५०० किलोमिटरसम्मको क्षेप्यास्त्र पहुँच प्रदर्शन गरिसकेको उल्लेख गर्दै उहाँले अमेरिकी सैन्य अखडालाई आवश्यक परे लक्षित गर्न सक्ने बताउनुभयाे ।
मोहेबीले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र पर्सियन खाडीमा अमेरिकी नौसैनिक उपस्थितिमा कमी आएको दाबी गर्नुभयाे । उहाँका अनुसार युद्धअघि खाडीमा करिब ४० अमेरिकी युद्धपोत रहेकामा अहिले कुनै पनि छैनन् । अमेरिकी विमानवाहक जहाज तथा अन्य युद्धपोतलाई क्षेत्रबाट ५०० देखि ७०० किलोमिटर टाढा राखिएको उहाँले बताउनुभयाे । अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको भण्डारमा समेत कमी आएको उहाँको भनाइ छ ।
अमेरिकाले पुनः आक्रमण गर्न सक्ने सम्भावनालाई इरानले गम्भीर रूपमा लिएको उल्लेख गर्दै उहाँले अमेरिकी सैनिक तैनाथी, विमान गतिविधि र सैन्य योजनामाथि निगरानी भइरहेको बताउनुभयाे । ‘हामीविरुद्ध शत्रुले जस्तोसुकै कारबाही गरे पनि त्यसको जवाफ कम्तीमा तीन गुणा बढी हुनेछ’, उहाँले चेतावनी दिनुभयाे ।
इरानविरुद्ध आक्रमण गर्न आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि देश प्रतिशोधको निशानामा पर्न सक्ने उहाँले बताउनुभयाे । इरानी बाँध तथा नागरिक पूर्वाधारमाथि आक्रमण भए त्यसको पनि जवाफ दिइने उहाँको भनाइ छ । अमेरिकाले स्थल आक्रमण वा हेलिकप्टरमार्फत छापा मार्ने सम्भावनालाई समेत उहाँ अस्वीकार गर्नुहुन्छ ।
यसै वर्ष फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेपछि इरानले इजरायल तथा मध्यपूर्वका अमेरिकी सैन्य अखडालाई क्षेप्यास्त्र र ड्रोनबाट लक्षित गरेको थियो । अप्रिल ८ मा युद्धविराम लागू भए पनि त्यसपछि जुन १८ मा भएको समझदारीअनुसार आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी अन्तिम सम्झौताका लागि तय गरिएको वार्तामा प्रगति हुन सकेको छैन । बढ्दो तनावका बीच इरानले अहिलेको अवस्थालाई स्थायी शान्तिका रूपमा नलिएको जनाएको छ । (रासस)
