हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

इन्भेष्टाेपेपर । मंसिर ४, २०८३

काठमाडौँ ।  काठमाण्डौबाट धुवाँ तथा कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार र टौदह पार गरेपछि फर्पिङ पुगिन्छ । दक्षिणकाली नगरपालिकामा पर्ने यो ठाउँ इतिहास, प्रकृति र संस्कृतिका दृष्टिले महत्वपूर्ण छ । सल्ला र उत्तिसका रुख, चराचुरुङ्गीको चिरबिर तथा चिसो पहाडी हावाबीच यस ठाउँमा राणाकालीन समयमा निर्मित इँटाको पावरहाउस छ । यही हो, नेपालको पहिलो जलविद्युत् केन्द्र, चन्द्रज्योति विद्युत् गृह । जुन अहिले फर्पिङ जलविद्युत् केन्द्रका रुपमा परिचित छ । पावरहाउसमा पुराना पेल्टन टर्बाइन, जेनेरेटर र अन्य यन्त्रहरू संरक्षित छन् । 

दक्षिणकाली नगरपालिकाले यस क्षेत्रलाई अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले योजना बनाइरहेको छ । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतका अनुसार फर्पिङ घुम्न जानेका लागि ऐतिहासिक जलविद्युत् केन्द्रसँगै शेषनारायण मन्दिर र त्यहाँका कुण्ड, गुरु पद्मसम्भवसँग सम्बन्धित असुर गुफा र बौद्ध गुम्बाहरू पनि आकर्षक गन्तव्य बन्न सक्छन् । यस यात्रामा दक्षिणकाली मन्दिरलाई पनि समेट्न सकिन्छ ।

काठमाण्डौबाट बिहानै निस्कने हो भने यी ठाउँ दिनभरीमा मजाले घुम्न सकिन्छ । रात बिताउने चाहना भए नजिकै हात्तीबन हिमालयन हाइट रिसोर्ट र चम्पादेवी हिलसाइड रिसोर्टजस्ता आवासका विकल्प पनि छन् । 

फर्पिङ हाइड्रोको शताब्दी पुरानो इतिहास

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा योजना अघि बढेको चन्द्रज्योति विद्युत् गृह १९६८ जेठ ९ गते उद्घाटन भएको हो । पाँच सय किलोवाट क्षमताको यो आयोजना नेपालको पहिलो जलविद्युत् केन्द्र हो । केन्द्रले चीनको पहिलो जलविद्युत् केन्द्र शिलोंग्बाभन्दा झण्डै एक वर्षअघि बिजुली उत्पादन शुरु गरेको थियो । शिलोंग्बा सन् १९१२ मा ४८० किलोवाट क्षमतामा सञ्चालनमा आएको थियो । भारतमा भने त्यसअघि नै सन् १८९७ मा १३० किलोवाटको सिद्रापोङ र सन् १९०२ मा चार हजार ५०० किलोवाटको शिवसमुद्रम आयोजना सञ्चालनमा आइसकेका थिए ।

आयोजनाको योजना बनाउने काममा नेपाली इन्जिनियर कर्णेल किशोर नरसिंह राणाको नेतृत्व थियो । कुमार नरसिंह राणा पनि निर्माण कार्यमा संलग्न हुनुहुन्थ्यो । बेलायती इन्जिनियरले विस्तृत लागत अनुमान र उपकरण जडानमा काम गरे भने जनरल पद्मशमशेरले निर्माणको समग्र निरीक्षण गर्नुभएको थियो । नेपाली कामदार र केही भारतीय प्राविधिकको संलग्नतामा मुख्य निर्माण करिब २० महिनामा पूरा भएको थियो ।

आयोजनामा सात लाख १३ हजार २७३ रुपैयाँ खर्च भएको अभिलेख छ । त्यसमध्ये तीन लाख ६७ हजार ९८४ रुपैयाँ नेपालभित्रै खर्च भएको थियो । टर्बाइन र जेनेरेटर बेलायत सरकारबाट अनुदानमा प्राप्त भएकाले तिनको मूल्य यो लागतमा समावेश थिएन । आवश्यक उपकरण बेलायतबाट कलकत्ता, भीमफेदी हुँदै फर्पिङसम्म ल्याइएको थियो ।

फर्पिङदेखि टुँडिखेलसम्म पुगेको उज्यालो

बिजुली निकाल्न फर्पिङमा कुनै विशाल नदी थुनिएको थिएन । सातमूले र शेषनारायण क्षेत्रका मुहानबाट ल्याइएको पानी जम्मा गर्न २०० फिट व्यास र १८ फिट गहिराइको गोलाकार जलाशय बनाइएको थियो । त्यसको पानी सञ्चय क्षमता पाँच लाख २८ हजार ७८३ घनफिट छ ।

जलाशयबाट दुई हजार ५३८ फिट लामो र २० इन्चको पाइप हुँदै पानी पावरहाउससम्म पु¥याइयो । पानीको बलले २५०–२५० किलोवाटका दुई पेल्टन टर्बाइन घुमाउँथ्यो । जेनेरेटरबाट उत्पादित तीन फेजको ३.३ किलोभोल्ट विद्युत् ट्रान्सफर्मरमार्फत ११ किलोभोल्टमा बढाएर प्रसारण गरिन्थ्यो । काठ र स्टिलका पोलमा टाँगिएको करिब छ माइल लामो लाइनले फर्पिङको बिजुली टुँडिखेलसम्म पुर्‍याएको थियो ।

विसं १९६८ जेठ ९ गते साँझ टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले साँझ करिब ६ः३० बजे बत्ती बालेर चन्द्रज्योति विद्युत् गृहको उद्घाटन गर्नुभएको थियो । त्यसपछि टुँडिखेल क्षेत्रमा एक हप्तासम्म बत्ती बालिएको थियो । उद्घाटनको भोलिपल्ट जङ्गी तथा निजामती कर्मचारीलाई एक दिन बिदा दिइएको इतिहास छ । शुुरुका वर्षमा भने यस केन्द्रको बिजुली मुख्यतः राजपरिवार, राणा परिवार र पहुँच भएका स्थानमा सीमित थियो ।

फर्पिङ जलविद्युत् केन्द्रले २०३८ सालसम्म नियमित विद्युत् उत्पादन गर्‍यो । त्यसपछि यसको पानी खानेपानी आपूर्तिमा प्रयोग हुन थालेपछि नियमित उत्पादन रोकियो । पुराना यन्त्रहरू मर्मत गरेर प्रदर्शनका लागि कहिलेकाहीँ चलाइने अवस्थामा राखिएका छन् । नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रलाई ऐतिहासिक विद्युत् सङ्ग्रहालयका रूपमा विकास गर्ने काम अघि बढाएको छ ।

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत आफूहरु यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा थप विकास गर्नेगरी काम गरिरहेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले नगरपालिकाले म्यापिङको काम गरिरहेको र चाँडै सार्वजनिक पनि गरिनेछ । 

‘फर्पिङ काठमाण्डौको नजिकै भएको एतिहासिक पर्यटकीय क्षेत्र हो, यहाँ धार्मिक हिसाबले, इतिहास अध्ययन गर्न चाहनेहरुका लागि उपयुक्त गन्तव्य हो, त्यसबाहेक एक दिनको ट्रेकिङका जाने जाने र पिकनिक मनाउनेका लागि पनि उत्तम स्थलका रुपमा विकास भइरहेको छ’, उहाँले भन्नुभयो ।

जलविद्युत्का लगानीकर्ता विजय सागर प्रधान आज फर्पिङलाई ऐतिहासिक, सांस्कृतिक र शैक्षिक भ्रमणको गन्तव्यका रूपमा चिनाउने प्रशस्त आधार भएको बताउनुहुन्छ । उहाँका अनुसार जलविद्युत् केन्द्रको संरक्षण र प्रवद्र्धन गर्दै यस क्षेत्रलाई शैक्षिक गन्तव्यका रुपमा पनि विकास गर्न सकिन्छ । साथै जलाशय, पावरहाउस, मन्दिर र गुम्बालाई जोडेर भ्रमणको राम्रो अनुभव तयार गर्नसके यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको विद्युत् इतिहास नजिकबाट बुझ्ने अवसर मिल्ने उहाँको भनाइ छ ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *