कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय गाडी आयात

इन्भेष्टाेपेपर । मंसिर ६, २०८३

काठमाण्डाै । नेपाल–चीन सीमामा रहेको मुस्ताङको कोरला नाकाबाट चालू आर्थिक वर्षको पहिलो चार महिनामा सात हजार वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय गाडी भित्रिएको यो पहिलो पटक हो । गएको वर्ष यो नाकाबाट तीन हजार २१३ वटा विद्युतीय गाडी भित्रिएका थिए ।

गएको भदौ १० गते रसुवागढी नाका बन्द भएपछि यस नाकाबाट आयात बढेको भन्सार अधिकृत अमिन्द्र सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउनमा १००, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा ५ हजार ६४७ वटा विद्युतीय गाडी भित्रिएका हुन् ।

यसैबीच आयातित गाडीलाई गन्तव्यसम्म पुर्‍याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव हुँदा दर्जनौँ गाडी अझै पनि बाटोमै अलपत्र परेका छन् ।

गाडीको आयात बढेसँगै मुस्ताङ भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो चार महिनामै १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो कार्यालयको वार्षिक लक्ष्यभन्दा तीन अर्ब ५५ करोड रुपैयाँ धेरै हो ।

यस अवधिमा चीनबाट ३० अर्ब नौ करोड बराबरका मालसामान आयात भएकामा नेपालबाट २९ करोड ५२ लाख रुपैयाँ बराबरका हस्तकलाका सामान तथा नेपाली उत्पादन चीनतर्फ निकासी भएका भन्सार कार्यालयले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *