सुरक्षण मुद्रण केन्द्रले मासिक छाप्दै छ ६२ हजार स्मार्ट लाइसेन्स
इन्भेष्टाेपेपर । मंसिर १२, २०८३
काभ्रेपलाञ्चोक । पनौतीको धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) मा मासिक सरदर ६२ हजार ‘क्यूआर–कोड’सहितको स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छापिरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ ।
केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल केन्द्रमा दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट प्राप्त ‘डेटा’का आधारमा लाइसेन्स छापिरहेको केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिनुभयाे । उहाँका अनुसार कार्यालयहरूबाट इमेलबाट प्राप्त छपाइ आग्रहअनुसार लाइसेन्स छाप्ने गरिएको छ । छपाइ परिमाणका आधारमा भुक्तानी पनि स्वयं कार्यालयबाट भइरहेको तिमिल्सिनाको भनाइ छ ।
‘क्यूआर–कोड’सहितको स्मार्ट लाइसेन्स छपाइ सुरु गरेदेखि असार मसान्तसम्मको अवधिमा २७ लाख ४७ हजार लाइसेन्स छापेर सम्बन्धित कार्यालय पठाइएको तिमिल्सिनाले जानकारी दिनुभयाे ।
विभाग र केन्द्रबीच गत वैशाख ४ गते स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि सोही गुणस्तरको छपाइको काम सुरु गरिएको हो । तिमिल्सिनाका अनुसार विभागसँगको पहिलो चरणको सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ गरिएको थियो भने त्यसपछि असारमसान्तसम्ममा थप १५ लाख ४७ हजार लाइसेन्स छापिएको थियो । केही सङ्ख्यामा ब्याकलग लाइसेन्स पनि सँगसँगै छपाइ हुने तिमल्सिनाले बताताउनुभयाे ।
केन्द्र र विभागबीच पहिलो चरणमा २०८२ कात्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता गरिएको थियो । केन्द्रले निर्धारित समयअघि नै उक्त काम सम्पन्न गरेको थियो । दोस्रो चरणमा भने गत वैशाख ४ गते १५ लाख ४७ हजार लाइसेन्स छाप्ने सम्झौता भएको थियो । गत आर्थिक वर्षमा केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौताअनुसार करिब ९० लाख थान हुलाक टिकट छापिएको तिमिल्सिनाले जानकारी दिनुभयाे ।
केन्द्रमा हाल ९ जना इन्जिनियर र १६ जना प्राविधिक कर्मचारी गरी २५ जना कर्मचारी छन् ।
केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइ गर्न सकिनेछन् । (रासस)
