परराष्ट्रमन्त्री ज्ञवालीले आज मानवअधिकार परिषदको ४० औँ सभामा भाग लिदै
स्वीटजरल्याण्डको जेनेभामा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज संयुक्त राष्ट्रसंघकोमानवअधिकार परिषदको ४० औं सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । नेपालको मानवअधिकार सम्बन्धी प्रतिबद्धताका विषयमा मन्त्री ज्ञवालीले नेपाल सरकारको धारणा राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवाली मृत्युदण्ड सम्बन्धी व्यवस्थाका बारेमा आयोजना गरिएको उच्चस्तरीय अन्तर्क्रियामा सहभागी हुने जेनेभास्थित नेपाली स्थायी नियोगले उल्लेख गरेको छ । यसैबीच, परराष्ट्रमन्त्री ज्ञवालीले कतारका उपप्रधान तथा विदेशमन्त्री अब्दुल रहमान विन जसिम अल थानीसँग साईडलाईन भेट गर्नुभएको छ ।
जेनेभा भ्रमणका क्रममा भएको भेटमा दुई मुलुकबीचको द्वपक्षीय सम्बन्ध, लगानी तथा नेपाली कामदारको हितका विषयमा कुराकानी भएको नेपाली स्थायी नियोगले जनाएको छ । मन्त्री ज्ञवालीले बेलायतका विदेश तथा राष्ट्रमण्डल राज्यमन्त्री लर्ड अहमाद अफ विम्बल्डनसँग मानवअधिकार परिषदमा दुई मुलुकका प्राथमिकताका विषयमा कुराकानी गर्नुभयो । बेलायतसँगको द्विपक्षीय सम्बन्ध अझ मजबुत बनाउने तथा आर्थिक सहकार्यका विषयमा समेत भेटमा कुराकानी भएको थियो । मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भोली काठमाडौं फर्किनेछ ।
