कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग : रू. ५ अर्ब ६० करोड ऋण स्वीकृत

Investopaper, कार्तिक १९, २०७६

एशियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ । एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि रू. ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो ।

नेपालको खाद्य सुरक्षाका उपायहरूमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिको व्यवसायीकरण प्रवर्द्धन गर्न ५ करोड अमेरिकी डलर (रू. ५ अर्ब ६० करोड) ऋण स्वीकृत गरेको एडीबीका वरिष्ठ सार्वजनिक व्यवस्थापन अर्थशास्त्री नाभेन्दु करणले जानकारी दिए । 

‘कृषिले नेपालको विकास र आर्थिक वृद्धिमा ठूलो योगदान पुर्‍याउनसक्ने सम्भावना छ, तर यो क्षेत्र निर्वाहमा आधारित छ र खाद्य सुरक्षाका उपायहरूले अन्य मुलुकसँगको कृषि व्यापार सम्भाव्यतामा बाधा पुर्‍याइरहेको छ,’ सोमवार एडीबीले जारी गरेको विज्ञप्तिमा अर्थशास्त्री करणले भनेका छन्, ‘एडीबीको सहयोगले यी क्षेत्रमा रहेका समस्या सम्बोधन गरी नेपालको कृषि उत्पादन र प्रक्रियालाई अन्तरराष्ट्रिय मापदण्डको बनाउन योगदान पुग्ने अपेक्षा छ ।’

नेपालको अर्थतन्त्रमा कृषिक्षेत्रको योगदान महत्त्वपूर्ण रहेको छ । सन् २०१९ को कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रको योगदान २७ प्रतिशत रहेको छ । नेपालको काम गर्न योग्य १५ वर्षभन्दा माथिका जनसंख्याको ५५ प्रतिशत कृषिमा संलग्न रहेको तथ्यांक छ, त्यसमा ६१ प्रतिशत महिला छन् । यद्यपि, यो क्षेत्रको उत्पादकत्व दक्षिण एशियाकै सबैभन्दा कम रहेको छ ।

निर्वाहमुखी खेतीको प्रभुत्व, उपयुक्त खेतीको छनोट तथा प्रविधिमा रहेको कमजोरी, मल र बीउको अभाव, सीमित वित्तीय सेवा र पूर्वाधार लगायत कारण कृषिको उत्पादकत्व बढ्न नसकेको एडीबीको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *