राष्ट्रिय वाणिज्य बैंकको सुर्खेतमा प्रादेशिक कार्यालय स्थापना
Investopaper, पौष १९, २०७६
सुर्खेत । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रदेशकाे प्रादेशिक कार्यालय सुर्खेतकाे वीरेन्द्रनगरमा स्थापना गरिएको छ । अब कर्णाली प्रदेशभित्रका बैंकका शाखा कार्यालयको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण प्रादेशिक कार्यालयबाट गर्ने उदेश्यकासाथ स्थापना गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका–८ मा अवस्थित कार्यालयको शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभयाे । उद्घाटन मन्तव्यका क्रममा वाणिज्य बैंकलाई निजी बैंकभन्दा छिटोछरितो र विश्वसनीय सेवा दिनुपर्ने चुनौती रहेको शाहीले बताउनु भयाे । साथै उहाले कर्णालीवासीको आम्दानीको अवस्थालाई मध्यनजर गरेर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन समेत आग्रह गर्नुभयाे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले प्रादेशिक कार्यालयबाट रु एक करोड २५ लाखको ऋण स्वीकृत तथा रु दुई करोड ५० लाखसम्मको कर्जाको नवीकरण गर्न सकिने जानकारी दिनुभयाे ।
राष्ट्रिय बाणिज्य बैंकका नेपाल अधिराज्यभर झण्डै ३० लाख निक्षेपकर्ता, कर्जा ग्राहक दुई लाख र शाखा संख्या २२८ वटा रहेकाछन् । त्यस्तै, एटिएम शाखा २०५, शाखारहित बैंकिङ ९५, एटिएम ग्राहक चार लाख ५० हजार र मोबाइल बैंकिङका १० लाख ग्राहक छन् ।
