विमानस्थलबाट सुन र हिरासहित दुई भारतीय नागरिक पक्राउ
Investopaper, पौष २१, २०७६
नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन र हिरासहित दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले सुन र हिरासहित भारतीय नागरिक मोहम्मद माईदिन साथट र कोटाककुथ किजाकेथिललाई आज दिउँसो पक्राउ गरेको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले स्थालीलाई २२२ ग्राम हिरा र किजाकेथिललाई ५०० ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका माईदिन नेपाल एयरलाइन्स उडानद्वारा मलेसियाबाट नेपाल आएका र कोटाककुथलाई दुबईको उडानद्वारा दुबई हुँदै नेपाल आएको अनुसन्धानमा खुलेको छ। पक्राउ परेकाले सुन र हिरालाई क्याप्सुल बनाएर मलद्वारमा लुकाइछिपाइ गरेर ल्याएको प्रवक्ता ज्ञवालीले बताए। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
— रासस
