गरिमा विकास बैंकले रुपन्देहीको मुर्गियामा खोल्यो शाखा
पुस २३, २०७६ | Investopaper
गरिमा विकास बैंक लिमिटेडले मिति २०७६ पौष २३ गते बुधबार सैनामैना नगरपालिका वडा नं. ४, मुर्गिया रुपन्देही स्थित मुर्गिया शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख श्री चित्र बहादुर कार्कीज्यूले गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष श्री चन्द्रकान्त बरालज्यूले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गिया स्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताउनुभयो ।
विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकालज्यूले आधुनिक सुविधा सहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने बताउनुभयो ।
गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब २५ करोड कर्जा लगानी गरेको छ ।
