कोरोनाभाइरसः नेपालमा मङ्गवारदेखि एक साताका लागि ‘लकडाउन’
इन्भेष्टोपेपर। चैत्र १०, २०७६
विश्वमहामारी भाइरस फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले भोली देखि एक साताका लागी सरकारी तथा निजि कम्पनी बन्द गर्ने र जनतालाई अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। ‘लकडाउन’ मङ्गलवार बिहान ६ बजेबाट लागु भई चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै मङ्गलवार बिहानबाट लागु हुने गरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी ‘लकडाउन’ गर्ने निर्णय गरेको छ।
उनले भने, “कोभिड-१९ को रोकथाम गर्नका निम्ति मानिसहरू बीचको दूरी कायम गर्नका लागि अझ प्रभावकारी बनाउन हामीले अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवालाई यथास्थितिमा राख्ने र व्यक्तिहरू घरबाहिर ननिस्कने खालको एउटा वातावरण बनाउन अपील गर्ने निर्णय गरेका छौँ।” समितिले उक्त अवधिमा औषधोपचारजस्ता अत्यावश्यक कामबाहेक कोही पनि घरबाट निस्कन नपाउने उल्लेख गरेको छ।
अनुमतिप्राप्त बाहेक सबै प्रकारका सार्वजनिक र निजी सवारीसाधनमा रोक लगाइएको छ। स्वास्थ्य, भन्सार, सुरक्षा लगायत अत्यावश्यकबाहेक अरू क्षेत्रका सम्पूर्ण कर्मचारीलाई बिदा दिने निर्णय गरिएको पनि अधिकारीहरूले जनाएका छन्।
औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दूध र इन्धन लगायत अत्यावश्यक क्षेत्रका बाहेक सबै निजी उद्योग पनि बन्द गरिने जनाइएको छ।
‘लकडाउन’को समयमा कालोबजारी गर्नेलाई कारबाही गरिने र आफ्नो आदेशको कार्यान्वयनका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ।
