अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो

इन्भेष्टोपेपर । चैत्र १९, २०७६

टेक्सस ।  संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभएको अमेरिकास्थित नेपाली दूतवासले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिनुभएको राजदूत डा अर्जुनकुमार कार्कीले बताउनुभयो । राजदूत कार्कीले ३० मार्च २०२० मा एक अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गर्नुभएको र नेपाली समुदायलाई सचेत र सुरक्षित भई बस्न आग्रह गर्नुभएको उल्लेख छ । राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको अपिलमा जनाइएको छ । अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा नेपाली रहेको बताइन्छ ।

राजदूत कार्कीले अमेरिकामा रहेका नेपाली विद्यार्थीको भिषा तथा विद्यमान परिस्थितिले गर्दा यात्रा अवरुद्व हुन गई भिषा समाप्त भएका नेपाली नागरिकलाई आवश्यक सहयोग गर्न तथा सङ्क्रमित भएका नेपालीको उपचारमा सहयोग गर्नका लागि नेपाल सरकारले निर्णय गरेअनुरुप अमेरिकी सरकारसमक्ष अनुरोध गरिएको जनाउनुभयो ।

दूतावासले गैरआवासीय नेपाली सङ्घ अमेरिकालगायत अमेरिकाका ५० राज्यमा रहेका १२६ सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित कन्फ्रेन्स कल गरी नेपालीको अवस्था र गर्नुपर्ने सहयोगका बारेमा छलफल गरीे आवश्यक लगत राख्ने काम थालिएको जनाएको छ ।

राजदूत कार्कीद्वारा जारी अपिलमा कोभिड–१९ को यो विषम परिस्थितिमा नेपाल सरकारका निर्णयहरु तथा जानकारीमूलक सन्देश सामग्री तथा अपिलहरुको प्रचारप्रसारमा जोड दिइएको जनाइएको छ । अति आवश्यक सेवा प्रवाहलाई समेत निरन्तरता दिँदै केही समस्या परे २४ सै घण्टा सेवा उपलब्ध हुने गरी चार वटा फोनलाइनको व्यवस्था गरिएको तथा कोभिड–१९ का निम्ति छुट्टै इमेलको व्यवस्था मिलाइएको अपिलमा उल्लेख गरिएको छ । दूतावासले विद्यार्थीलाई छिटो छरितोरूपमा सेवा प्रदान गर्नका लागि समेत छुट्टै इमेल सेवाको व्यवस्था गर्दै आएको छ ।

केही समस्या परे अमेरिकाको वासिङ्टन डिसीस्थित दूतावास र न्यूयोर्कस्थित वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि सबैमा दूतावासले आग्रह गरेको छ । अमेरिकामा कोभिड–१९ को सङ्क्रमणका कारण एक नेपालीको ज्यान गएको छ भने केही अस्पतालमा उपचारार्थ रहेका छन् । नेपालीको बाक्लो बसोबास रहेको न्यूयोर्क शहर अहिले कोभिड–१९ को इपिसेन्टरजस्तै बनेको छ ।

— रासस 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *