आजदेखि सवारीमा जोर विजोर लागु, एक जिल्लाबाट अर्काेमा जान नपाइने
इन्भेष्टोपेपर । जेष्ठ ३०, २०७७
सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै आजबाट जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसैगरि एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ । यसअघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्नु पर्नेछ ।
नयाँ नियम अनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जनासम्म सवार हुन सक्नेछन् भने २ पाङ्गे सवारी साधन (मोटरसाइकल, स्कुटर, मोपेड) मा भने चालक मात्र हुनु पर्नेछ । अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ः०० बजेदेखि विहान ५ः०० बजेसम्म चलाउन भने रोक लागाइएको छ ।
सार्वजनिक यातायात अर्थात कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने छ ।
