इलामको सन्दकपुरमा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना

इन्भेष्टाेपेपर ।  चैत्र २१, २०८२

काठमाण्डौ ।  इलामको सन्दकपुर गाउँपालिकामा तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’ आयोजना गरिएको छ । 

लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिजोदेखि रेडपाण्डा महोत्सव शुरू भएको हो । सन्दकपुर गाउँपालिकाले महोत्सव आयोजना गरेको हो । 

महोत्सवमा पर्यटकले आदिवासी जनजातिको संस्कृति, सिमसार, पोखरीहरू, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथासहित विभिन्न हिमशृङ्खला, सयौँ प्रजातिका चरा, रेडपाण्डासहितका लोपोन्मुख वन्यजन्तुको अध्ययनसँगै पदयात्रा गर्न पाउनेछन् । 

वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सन्दकपुर वार्षिक क्यालेण्डरअनुसार महोत्सव आयोजना गरिएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो । 

महोत्सवमा नेपाल र भारतका पर्यटन व्यवसायी सहभागी छन् । महोत्सव पर्सि सोमबारसम्म चल्नेछ । सन्दकपुरमा रेडपाण्डा हेर्न पर्यटक पुग्ने गरेका छन् । रेडपाण्डा हिमाली क्षेत्रमा विचरण गर्ने विश्वकै दुर्लभ स्तनधारी प्रजाति हो । 

यसलाई हाब्रे, रातो पाण्डा, पुँडे कुँदो उपनामले पनि चिनिन्छ । रेडपाण्डा भुटान, चीन, भारत, म्यानमार र नेपालमा मात्र पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ (१९७३) ले रेडपाण्डालाई नेपालको संरक्षित प्रजातिको रूपमा वर्गीकृत गरेको छ । 

समुद्री सतहको दुई हजार २०० मिटरदेखि चार हजार ८०० मिटरसम्म यसको बासस्थान उपयुक्त मानिन्छ । रेडपाण्डा नेपालको इलामसहित २५ जिल्लामा पाइन्छ । 

रेडपाण्डाको प्रमुख आहारा मालिङ्गो, निगालोको टुसा, भालुचिण्डे, ऐँसेलु तथा जङ्गली फलफूल हुन् । रेडपाण्डा संरक्षणका लागि सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा रेडपाण्डासम्बन्धी पठनपाठन नै सञ्चालन गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *