एसियाली विकास बैंक द्वारा सञ्चालित परियोजनाको प्रगति सन्ताेषजनक
Investopaper, भाद्र २०, २०७६
काठमाडौ — एसियाली विकास बैंक (एडीबी) द्वारा सञ्चालित पुनर्निर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ । एडीबीले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना, तिनको वर्तमान अवस्था र समयमै तिनलाई पूरा गर्न दाता, सरकार तथा कार्यान्वयनकर्ता निकायबीच बिहीबार काठमाडौंमा बसेको त्रिपक्षीय समीक्षा बैठकमा एडीबीले लगानी गरेका सो दुई परियोजनाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो ।
एडीबीले लगानी गरेका ३१ परियोजनामध्ये पुनर्निर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाले लक्ष्यअनुसार गति लिएका तथा अघिल्लो वर्षको साउन १५ गतेको तुलनामा २०७६ साउन १५ गतेसम्ममा समग्रमा सबै ३१ वटा परियोजनाको प्रगति सन्तोषजनक रहेको जनाइएको छ ।
एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजनाको कार्यान्वयनमा निकै चुनौती रहेको भए पनि तिनको समाधानमा नेपाल सरकारले देखाएको तत्परताको सराहना गर्दै नेपालको सामाजिक–आर्थिक उन्नयन नै एडीबीको मुख्य लक्ष्य रहेको बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा १५४ वटा विद्यालय पुनर्निर्माण सम्पन्न हुन लागेका र विद्युत् उत्पादन तथा वितरण अभिवृद्धि परियोजनाको पनि प्रगति उल्लेख्य भएको जानकारी दिए । पछिल्ला वर्षमा एडीबीले नेपाललाई अधिक ऋण उपलब्ध गराएको स्पष्ट पार्दै उनले भने, ‘सन् २०१८ मा ऋण रकम ५९ करोड २० अमेरिकी डलर पुगेको छ ।’ नेपालको विकासका लागि एडीबीले अझै सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले एडीबीले नेपालको विकास निर्माणका काममा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै एडीबीद्वारा नेपालमा सञ्चालित परियोजना समयमै सम्पन्न गर्न सम्बद्ध सबै पक्ष इमानदार हुनुपर्ने र त्यसमा नेपाल सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्न सदा तयार रहने प्रतिबद्धता व्यक्त गरे । एडीबीले हाल नेपालमा २ खरबभन्दा बढीको परियोजना सञ्चालन गरिरहेको छ । त्यसमध्ये सबैभन्दा बढी लगानी सडक पूर्वाधार, ऊर्जा र खानेपानीमा रहेका छन् । याे समाचार राजधानी दैनिकमा छ ।
