कृषक र कृषिकर्म : साप्ताहिक माैसमी अवस्था तथा विविध कृषि ज्ञान
इन्भेष्टाेपेपर । चैत्र ०१, २०७७
नेपाल कृषि प्रधान देश, जबसम्म कृषिकाे व्यवसायिकिकरण हुँदैन देशकाे अर्थतन्त्रले गतिलिन सक्दैन । खेतीपातीकाे लागी माैसम सम्वन्धी जानकारी हुन अत्यावश्यक छ । यसैगरि सहि समयकाे पहिचान, उन्नत / सिफारिस गरिएका जातहरूकाे बारेमा जानकारी, लगाउने तरिका, स्याहार सुसार तथा बाली संरक्षण सम्वन्धि जानकारी अपरिहार्य हुन्छ ।
समस्त कृषकले कृषिकर्म र साप्ताहिक माैसमी अवस्थाकाे बारेमा समय सान्दर्भिक जानकारी लिइ लाभान्वित हुनसक्ने भएकाले राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा प्रकाशित साप्ताहिक (फागुन २८ देखि चैत्र ५ सम्म) कृषि-मौसम सल्लाह बुलेटिनलाइ साभार प्रस्तुत गरिएकाे छ ।
मौसमी सारांश:
गत साता देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षामापन भएको छ भने अधिकतम तथा न्यूनतम तापक्रमसरदर भन्दा बढी मापन भएको छ।
साताको सुरूमा हिमाली भूभागका केही स्थानहरुमा र साताको मध्य तथा अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।
साताको सुरुमा पहाडी भू-भागका केही स्थानहरूमा र साताको मध्यमा प्रदेश १ को केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
साताको सुरुमा प्रदेश १ र २ का तराईका केही भू-भागहरूमा र बाँकी प्रदेशका तराईका थोरै भू-भागहरूमा मेघगर्जन र चट्याङ् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साताको मध्य र अन्त्यमा प्रदेश १ को तराईका थोरै भू-भागहरूमा र बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन चट्याङ् सहित हल्का देखि मध्यम वर्षा सम्भावना छ।
आगामी हप्ता हिमाल, पहाड र तराईका धेरैजसो स्थानमा अधिकतम तथा न्युनतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ।
कृषि सारांश:
२१ दिन भईसकेको चैते धानको बेर्ना रोप्नुहोस्।
लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानहरुमा डब्लु.के. १२०४, विजय, स्वर्गद्वारी, गौतम, एन.एल. ९७१ जस्ता गहुँका जातहरुमा पहेँलो सिन्दूरे रोगको प्रकोप देखिएकोले प्रकोप ज्यादा भएको स्थानमा रोकथामको लागि मेटाल्याक्सिल १.५ ग्राम प्रति लिटर पानीको दरले १० दिनको फरकमा दुई पटकसम्म सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्। साथै आगामी हप्ता देशको पूर्वी तराई र मध्य पहाडमा लगाईएको गहुँबालीमा यस रोगको अनुगमन गर्नुहोस्।
गहुँ, अरहर, मुसुरो, चना, केराउ लगायत अन्य बालीहरुमा लाही कीराको प्रकोप बढ्दै गएकोले व्यवस्थापनका लागि डाइमेथोएट (रोगर) ३०% ई.सी., २ एम.एल. प्रति लिटरको दरले पानीमा मिसाई साँझको समयमा लाही लागेको ठाँउमा भिज्नेगरि छर्कनुहोस्।
उच्च पहाडमा फागुन-चैतमा गरिने आलु खेतीका लागि कुफ्रिज्योति, खुमल लक्ष्मी, खुमल सेतो-१, खुमल उज्वल जातहरूको बीउ मौसमको अवस्था हेरि रोप्नुहोस्। सकेसम्म बीउ आलुलाई नकाटी रोप्नुहोस्। ठूला दानालाई काट्नै परे कम्तिमा २ आँखा भएका स्वस्थ दाना मात्र काटेर रोप्नुहोस्।
जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
मध्य पहाडी क्षेत्रमा सिमी र बोडी लगाउन लाईन देखि लाईनको दूरी १२० से.मी. र बोटदेखि बोटको दूरी २० से.मी. फरकमा २ दानाको दरले बीउ खसाल्नुहोस्।
प्याजको शीते ढुसी रोग तथा थ्रिप्सको नियमित अनुगमन गर्नुहोस्।
काँक्रो, फर्सी समुहको लहरेबालीलाई फलकुहाउनेऔँसाबाट जोगाउनको लागि क्युल्युरयुक्त बोटल ट्रयाप प्रति हेक्टर ८ वटाको दरलेराख्नुहोस्। यस्तै फलफूल बालीमा मिथायल इयुजिनल युक्त बोटल ट्र्याप प्रति कठ्ठा १०-१२ ओटाको दरले राख्नुहोस्। साथैप्रत्येक२हप्तामा नयाँ ल्युरयुक्त बोटल फेर्नुहोस्।
खोरेत र चरचरे विरुद्द खोप लगाउने समय भएकोले नजिकैको प्राबिधिकसँग सम्पर्कगरि आफ्नो पशुवस्तुलाई समयमै खोप लगाउनुहोस्।
हाल काठमाडौंका केही स्थानहरुमा, खुल्ला रुपमा अव्यवस्थित तरिकाले नदी किनारका आसपाास पालिएका हाँस र टर्कीमा HPAI, H5N8 प्रकारको एभियन इन्फ्लुएन्जा फैलिएको पुष्टिभइसकेकोले सतर्क रही जैविक सुरक्षाका उचित उपायहरु अपनाउनुहोस्।
तराईका जिल्लाहरुमा कमन कार्पको ह्याचलिंग तथा भुरा उपलब्ध हुने समय भएकोले मत्स्य ह्याचरीहरुबाट भुराको बन्दोबस्त समयमै गर्नुहोस l
मध्यपहाडी जिल्लाहरुमा कमन कार्प माछाको प्रजनन् समय नजिकिएको हुँदा काकाबनको तयारी गरि माउपोखरीमा माउमाछा स्टक गर्नुहोस्।
डाले घाँस जस्तै-टाँकी, कोइरालो, भोर्ला, बकाइनो र साजको बीउ संकलन गर्ने समय भएकोले बीउको लागि पाकेको फल बोटबाट टिप्नु वा झार्नुहोस्। टिपेको फललाई राम्रोसँग घाममा सुकाएर प्लास्टिक वा टिनको भाडोमा बिर्को बन्द गरी ओभानो तर शितल ठाँउमा राखनुहोस्।
कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजे सम्म फोन गर्नुहोस्।
— साभार – कृषि-मौसम सल्लाह बुलेटिन – नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जारी
