दक्षिण कोरियामा प्रवासीको संख्या ५ वर्षयताकै कम
इन्भेष्टोपेपर । बैशाख १६, २०७८
सोल । दक्षिण कोरियामा विदेशीको जनसंख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ ।
मंगलवार प्रकाशित एक सरकारी तथ्यंकअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको संख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको संख्या कम भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत मार्चको गणनाअनुसार कोरियामा प्रवासीको संख्या १९ लाख ९९ हजार रहेको छ । गत वर्ष कोरियामा प्रवासीको कुल संख्या २२ लाख थियो । उक्त संख्यालाई आधार मानेर हेर्दा यो वर्ष ९ दशमलव २ प्रतिशतले कम हो । हालको संख्या सन् २०१५ यताकै सबैभन्दा कम हो । सन् २०१५ मा प्रवासीको संख्या १८ लाख थियो ।
त्यसैगरी सन् २०१९ को डिसेम्बरमा प्रवासीको संख्या सबैभन्दा धेरै २५ लाख दुई हजार रहेको तथ्यांकले देखाएको छ । हाल रहेका प्रवासीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक ४३ दशमलव ४ प्रतिशत छ भने दोस्रोमा भियतनामीको संख्या १० दशमलव ६ प्रतिशत छ । त्यसैगरी थाइल्याण्ड र अमेरिकी नागरिक क्रमशः ८ दशमलव ९ र ७ दशमलव ३ प्रतिशत छ ।
कोरोना माहामारीका कारण कोरियामा रोजगारी कठिनाइ पनि थपिएको छ । नेपाललगायत विभिन्न देशबाट कोरिया आउन चाहनेहरू पनि आउन सकेका छैनन् । उसो त यो संख्या घट्नुमा कोरोना माहामारी अघि छोटो बिदामा स्वदेश फर्केका प्रवासी श्रमिक, विद्यार्थी, व्यवसायीलगायत पनि स्वदेशमै अड्किनुलाई पनि लिन सकिने बताइन्छ । (रासस)
