दश रुपैयाँमा भरपेट खाना खुवाउने अभियान लोकप्रिय बन्दै; विराटनगर

Investopaer,पौष १९, २०७६-

विराटनगरको मेनरोडस्थित जैन भवन छेउमा केही दिनयता निकै ठूलो भिड देखिने गर्छ।

बटुवाहरू के भएछ भनेर हेर्छन्।सडकपेटीमा टाँगिएको टेन्टमुनि हातमा थाल लिएका मानिसहरूको लामो लाइन हुन्छ। पढ्न सक्नेले भरपेट खानाको रु १० टेन्टमा लेखिएको पढ्छन्।थाहा पाउनेहरू आज कस्तो भिड रहेछ भनेर हेर्दै अघि बढ्छन्। अघिल्तिर ठूलो भड्डुबाट भात र तरकारी पस्केर दिन केही मानिसलाई भ्याइनभ्याइ हुन्छ। कतिपय चाहिँ त्यतै रोकिएर १० रुपैयाँ तिरेर कुपन लिन्छन र स्टलतिरको लाइनमा बसेर खाना खान्छन्। विराटनगरका चार जनाले समाजसेवा गर्ने भावनाले सुरु गरेको सस्तो खाना खुवाउने अभियानमा सर्वसाधारणदेखि राम्रै आम्दानी हुने मानिसहरूको भिड लाग्न थालेको उक्त अभियानमा लागेकाहरूले बताएका छन्।

होटलमा धेरै पैसा तिरेर खाना खान नसक्ने गरिब, मजदुर लगायत सर्वसाधारणलाई लक्षित गरी १० रुपैयाँमा तात्तातो भात र तरकारी खुवाउने उद्देश्यले १० दिनअघि उक्त अभियान सुरु गरिएको थियो। पैसा भएर पनि तातो र ताजा खाना नपाउनेहरूलाई पनि उक्त अभियानले तानेको छ। विराटनगर महानगरपालिकाको मेनरोडमा सञ्चालित सस्तो भरपेट खाना खान दैनिक चार सय जनाभन्दा बढी मानिस आउन थालेको उक्त अभियानका अगुवा दिलिप धाडेवाले बताए।

श्रीमान्‌ सहित सस्तो खाना खान आएकी विराटनगरकी चन्द्रकला कार्कीले १० रुपैयाँमा बासमती चामलको तात्तातो भात पाउदा आफू दङ्ग परेको बताइन्। उनले भनिन्ः “१० रुपैयाँमा चिया पनि पाइँदैन ,यहाँ पेटभर खाना पो पाइँदो रहेछ।”विराटनगरकै जुली चक्रवर्ती पनि परिवारसहित बजार घुम्न आउँदा सस्तो खाना खुवाइने स्टलमा भेटिइन्। उनले भनिन्, “बजारमा किनमेल पनि थियो। शनिवार फुर्सदको दिन किनमेलसँगै केटाकेटीलाई घुमाउने र यही खाना खानेगरी सपरिवार बिहानै आएको।””जाडोमा तात्तातो खान पाइयो, मीठो पनि लाग्यो” चक्रवर्तीसँगै आएकी पार्वती मण्डलले भनिन्। अभियानकर्मीहरूका अनुसार हरेक दिन फरकफरक तरकारी पकाउने गरिएको छ।कहिले राजमा, कहिले काउली, कहिले अन्य गेडागुडी पकाउने गरिएको छ। त्यहाँ लसुन र प्याजरहितको तरकारी पकाइन्छ।

दैनिक करिब ८० केजी चामलको भात पाक्ने गरेको अभियानकर्मीहरू बताउँछन्।

वीवीसी न्यूज-

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *