दुई लाख ५० हजार चालक अनुमतिपत्र छाप्न बाँकी, अत्यावश्यक अनुमतिपत्र मात्रै छापिँदै
इन्भेष्टोपेपर । चैत्र १०, २०७७
काठमाडौं । यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी रहेको छ। अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरण गरेर उक्त सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएको हो।
देशभरका यातायात व्यवस्था कार्यालयबाट एकै पटक धेरै सङ्ख्यामा नयाँ अनुमतिपत्रका लागि आवेदन दिएकाले यो सङ्ख्या अहिले ह्वात्तै बढेको विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताउनु भयाे। विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी गरेसँगै यातायात कार्यालयहरुले सेवा दिएका थिएनन्। गत असारमा कार्यालय खुले पनि बन्दाबन्दी पूरै नखुलेकाले त्यो समयमा धेरै सेवाग्राही कार्यालय जान सकेका थिएनन्।
सो अवधिमा नवीकरणका लागि केही समय थपिएको उनले बताए। कार्यालयहरुले गत पुस २९ देखि नवीकरण पुनः सञ्चालन गरेपछि एकै पटक धेरै अनुमतिपत्र छाप्नुपर्ने भएको उहाँले बताउनु भयाे। उहाँले भन्नुभयाे, ‘नयाँ र नवीकरण छाप्नुपर्ने धेरै छ।’
विगत वर्षहरुमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न बाँकी भए पनि गत वर्ष विभागले बाँकी रहेका सबै अनुमतिपत्र छापिसकेको थियो। बन्दाबन्दीको अवधिमा एक दिनमा तीन चरण गरेर छपाइ गरिएको सूचना प्रविधि निर्देशक डङ्गोलले बताउनु भयाे। विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेदेखि अहिलेसम्म २० लाख १९ हजारभन्दा बढी छपाइ भइसकेको छ।
विभागले अहिले अनलाइन माध्यमबाट मात्रै फारम लिइरहेको उनले बताए। सेवाग्राहीले जुनसुकै स्थान र समयमा फारम भर्न सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनु भयाे। गत पुसमा सेवा पुनः शुरु गर्दा विभागले निश्चित समयमा मात्रै फारम भर्न सक्ने व्यवस्था गरेको थियो।
एकै पटक धेरैले भर्न खोज्दा समस्या आएपछि जुनसुकै समयमा खुल्ला गरिएको हो। उहाँले भन्नु भयाे, ‘लामो समय रोकिएको सेवा एकै पटक खोल्दा पहिले पहिले चौबिस घण्टा हुँदा पनि समस्या थियो, अहिले त्यो हटिसकेको छ।’
नयाँ अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीमध्ये झण्डै ३० प्रतिशत पास हुने गरेको पाइएको छ। अहिले पनि साढे चार लाखले भरेकामा तीमध्ये आधाभन्दा कम मात्रै पास हुने अनुमान गरिएको छ। विभागमा छाप्नुपर्ने आवेदन बढिरहँदा छपाइ भने हुन सकिरहेको छैन। सरकारले १४ लाख कार्ड छपाइका लागि प्रक्रिया अघि बढाएको छ। त्यो आइनपुगेकाले अत्यावश्यक अनुमतिपत्र मात्रै छापिरहेको हो।
