मुलुकको समृद्धिमा चेम्बरको भूमिका महत्वपूर्ण – राष्ट्रपति भण्डारी

इन्भेष्टोपेपर । चैत्र ०३, २०७७

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिमा नेपाल चेम्बर अफ कमर्सको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सद्वारा आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा साेमवार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकासमा चेम्बर अफ कमर्सले अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । “सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा चेम्बर सहयोगी बनेको छ”, उहाँले भन्नुभयो, “औद्योगिक उत्पादन बढाएर देशलाई आर्थिकरुपमा समृद्ध बनाउन चेम्बरले विशेष जोड दिनुपर्छ ।”    

राष्ट्रपति भण्डारीले विदेशमा व्यापार बढाउन चेम्बरले विभिन्न प्रदर्शनी सञ्चालन गर्दै आएको स्मरण गर्दै स्वदेशी उत्पादनमा जोड दिन चेम्बर अफ कमर्ससँग आग्रह गर्नुभयो । “अहिलेको आवश्यकता स्वदेशी उत्पादन बढाउनु हो”, उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले महिलाको आर्थिक अवस्था सुधार गर्न चेम्बरले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै दैवी विपद्का घटनामा सहयोग गर्दै आएकामा चेम्बर अफ कमर्सलाई धन्यवाद दिनुभयो । चेम्बरले सबैसित सहकार्य गरी मुलुकको विकासमा टेवा पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।    
    
 कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको उल्लेख गर्दै सरकार निजी क्षेत्रसित सहकार्य गरी समस्या समाधान गर्न अग्रसर रहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा चेम्बर अफ कमर्सले दिएका सुझाव समेटिने आश्वासन दिदैं अर्थतन्त्र सबल बनाइ रोजगारी सिर्जना गर्न चेम्बर अफ कमर्सलाई सुझाव दिनुभयो ।    
    
 नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै आएको बताउँदै देशको समृद्धिका लागि सरकारसँग हातेमालो गर्न आफूहरु तयार रहेको स्पष्ट पार्नुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा चेम्बर सारथी बनेको छ”, उहाँले भन्नुभयो । कोभिड–१९ को महामारीका कारण व्यवसायी मारमा परेको हुँदा राहत दिइ व्यवसायीको मनोबल बढाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।    
    
 सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाल चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा निवर्तमान र वर्तमान अध्यक्षलाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गर्नुभएको थियो । मरणोपरान्त सम्मानित हुनेमा नेपाल चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष लोकनाथ जोशी, पूर्वअध्यक्ष जुद्धबहादुर श्रेष्ठ, विहारी खेतान, गोवद्र्धनलाल मास्के, रतिलाल अग्रवाल, जनकदास श्रेष्ठ, इन्द्रभक्त श्रेष्ठ, राजबहादुर चिपालु, वनवारीलाल मित्तल र ईश्वरलाल श्रेष्ठ रहनुभएको छ ।    
    
 यस्तै पूर्वअध्यक्ष महेशकुमार अग्रवाल र सुरेन्द्रवीर मालाकार, निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत तथा वर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठलाई समेत उहाँले सम्मान गर्नुभएको थियो ।  (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *