सहकारीका सबै समस्या एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ : अर्थमन्त्री पौडेल
इन्भेष्टाेपेपर । पुष २८, २०७७
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ।
अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गर्नुभयाे ।
‘सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई हामी एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ । त्यसका लागि तपाईंहरु तयार हुनुहोला । अब गुनासो गर्ने होइन, अग्रगामी रुपमा अगाडि बढ्ने हो’, उहाँले राष्ट्रिय सहकारी महासंघको २८औं वार्षिक साधारण सभालाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै भन्नुभयाे ।
मन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरसहित सहकारी अभियानकर्मीको सामूहिक र एकीकृत छलफल गरी समस्या समाधानमा पहल गरिने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘गुनासोले मात्र गन्तव्यमा पुगिँदैन । सरकारले के गर्नुपर्ने हो, अभियानबाट योजना बनाउनुस्, त्यसको समाधान गरेर अगाडि बढौँ ।’
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले महासंघले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपाय खोज्न आग्रह गर्नुभयाे । उहाँले सहकारीमैत्री नरहेका कानून संशोधनको प्रक्रिया अगाडि बढाउने विश्वास समेत व्यक्त गर्नुभयाे ।
साधारण सभामा महासंघका अध्यक्ष मीनराज कँडेलले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियो भने लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । (रासस)
