सातओटै प्रदेशका नयाँ प्रदेश प्रमुख नियुक्तः सपथग्रहण आज हुँदै
Investopaper, कार्तिक १९, २०७६
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिश गरेका सातओटै प्रदेशका नयाँ प्रदेश प्रमुखलाई नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिश गरेको थियो ।
राष्ट्रपतिले प्रदेश–१ को प्रमुखमा सोमनाथ अधिकारी, प्रदेश–२ मा तिलक परियार, प्रदेश–३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई नियुक्त गर्नुभएको हो । यसअघि सोमवार नै बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागि यी नाम सिफारिश गरेको थियो ।
नयाँ नियुक्त भएका प्रदेश प्रमुखहरू मध्ये पूर्वएमालेलाई चार र पूर्वमाओवादीलाई तीनओटा प्रदेश प्रमुख भागबण्डा गरिएको छ । प्रदेश प्रमुख अधिकारी, यादव, कलौनी र प्रसाईं पूर्वएमाले हुन् भने शेरचन, परियार र त्रिपाठी पूर्वमाओवादी निकट व्यक्ति हुन् ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्ने निर्णय गरेको थियो भने साेमवारकाे बैठकले नयाँ नामहरू राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेको थियाे । नवनियुक्त प्रदेश प्रमुखहरूको मंगलवार सपथग्रहण हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
