१५ वर्षदेखि कामै नगरी तलव
इन्भेष्टोपेपर । बैशाख ९, २०७८
इटली । इटलीको एउटा अस्पतालमा कार्यरत एक कर्मचारीले १५ वर्षदेखि कामै नगरी तलव बुझ्दै खुलासा भएपछि प्रहरीले पक्राउ गरेको छ ।
ती कर्मचारीले १५ वर्षदेखि काम नगरेको र तलव भने कम्तीमा ५३ लाख ८ हजार यूरो बुझेको त्यहाँको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
दक्षिणी सहर क्याटानजारोस्थित चाच्चो अस्पतालमा कार्यरत ती कर्मचारी सन् २००५ बाटै काममा आउन छाडेको आरोप छ।
उनीमाथि ठगी, जबरजस्ती पैसा असुलेको पनि आरोप लागेको छ । उक्त अस्पतालका छ जना प्रबन्धकहरूमाथि पनि सो मुद्दामा अनुसन्धान भइरहेको छ।
इटलीका सार्वजनिक निकायहरूमा हुने ठगी र अनुपस्थितिको आशङ्कामा प्रहरीले गरेको लामो अनुसन्धानपछि उनी पक्राउ परेका हुन्।
पक्राउ परेका व्यक्ति सरकारी जागिरे हुन् र उनलाई सन् २००५ मा अस्पतालमा सरुवा गरिएको थियो। उनले त्यसपछि काम छल्न थालेको प्रहरीले बताएको छ।
उनले आफूविरुद्ध अनुशासनको कारबाही नगर्न तत्कालीन प्रबन्धकलाई धम्की दिएको समेत प्रहरीले आरोप लगाएको छ। ती प्रबन्धकले अवकाश लिएपछि उनको अनुपस्थिति बारेमा त्यसपछिका प्रबन्धकहरू र मानव संशाधन निकायले थाहै नपाएको प्रहरी भनाइ छ। (बीबीसी )
