८५ दिनमा करीब ६ अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात
इन्भेष्टाेपेपर । भाद्र १४, २०७९
काठमाडौं । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद संकेत देखापरेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्र करीब ६ अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ ।
हाल दैनिक ३६४ मेगावाट बिजुली निर्यात भइरहेको छ । थप करीब ६०० मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ । माथिल्लो तामाकोशीको ४५६ मेगावाट र अन्य आयोजनाको ११० मेगावाट बिजुलीसमेत भारत निर्यातका लागि तयारी भइरहेको छ । भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको र छिट्टै निष्कर्ष निस्कने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
प्राधिकरणले चालू आवमा मात्रै रू. १६ अर्ब बराबरको बिजुली निर्यात हुने प्रक्षेपण गरेको छ । थप बिजुली निर्यात भएको अवस्थामा आम्दानीमा वृद्धि हुनेछ । आगामी २ वर्षपछि मुलुक पूर्णरूपमा बिजुली निर्यात गर्ने देशका रूपमा परिणत हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
‘आगामी हिउँदमा समेत केही मात्रामा बिजुली आयात गर्नुपर्ने हुन सक्छ, तर त्यसको मात्रा असाध्यै न्यून हुनेछ, आगामी वर्षदेखि भने हामी आयात शून्यमा झारेर निर्यात मात्रै गर्नेछौं,’ कार्यकारी निर्देशक घिसिङले भने ।
गतवर्षको लक्ष्मीपूजाको दिनदेखि प्राधिकरणले नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात शुरू गरेको हो । गत जेठको १५ गतेदेखि पुन: बिजुली निर्यात शुरू भएको र जेठ २७ गतेदेखि भारतको ऊर्जा एक्सचेञ्ज मार्केटमा समेत निर्यात शुरू भएको छ ।
वर्षात् मौसममा भारतमा गर्मी बढी हुने भएकाले बिजुलीको माग बढी हुने र सोहीअनुसार भाउ पनि पाएको उनको भनाइ छ । प्राधिकरणले बढी माग हुने समयमा प्रतियुनिट १९ रुपैयाँ २० पैसासम्म मूल्य पाएको छ । यो आन्तरिक बजारको तुलनामा धेरै बढी हो । आन्तरिक रूपमा खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्दा त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यमा मात्र सकारात्मक प्रभाव परेको छैन । मुलुकको आर्थिक उन्नयनमा समेत योगदान पुगेको छ ।
गत आर्थिक वर्षमा मात्रै प्रणालीमा थप ७४१ मेगावाट बिजुली थप भएको छ । चालू आवमा झन्डै १ हजार मेगावाट क्षमतामा बिजुली थप हुने विद्युत् विकास विभागका महानिर्देशक सञ्जीव देवले बताए । मुलुकको कुल जडित क्षमता २ हजार २६९ मेगावाट बराबर पुगेको छ ।
मुलुकभित्र बिजुलीको उत्पादन बढ्दै जाँदा थप निर्यातका लागि प्रसारण लाइन नभएको भन्ने आशंका व्यक्त भइरहेका बेला प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने त्यसलाई नकारे । हाल भारतका विभिन्न राज्यमा विभिन्न स्थानबाट प्रसारण प्रणाली जोडिएको जानकारी दिए । विगतमा बिजुली आयात गर्ने मात्रै विषयले प्राथमिकता पाउने गरेकोमा पछिल्ला दिनमा निर्यातको विषयले प्राथमिकता पाएको उनले बताए ।
भारतीय कम्पनी सतलजले ढल्केबर हुँदै सीतामढी जोड्न निर्माण गरिरहेको ४०० केभी क्षमताको प्रसारण लाइनबाटै पनि बिजुली भारत पठाउन सकिने जानकारी उनले दिए । सो प्रसारण लाइनले २ हजार मेगावाट बिजुली थेग्न सक्छ । यस्तै ४०० केभी क्षमताको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन पूर्ण क्षमतामा चलाउँदा १ हजार २०० मेगावाट बराबर बिजुली पठाउन सकिन्छ ।
उता न्यू–बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बोलपत्र भइसकेको जानकारी कार्यकारी निर्देशक घिसिङले आगामी २ वर्षभित्र सो लाइनसमेत निर्माण भइसक्ने उल्लेख गरे । सो प्रसारण लाइन निर्माणका लागि पावर ग्रीड इण्डियाले जिम्मा लिएको छ । त्यसमा प्राधिकरण र भारतीय पक्षको समान लगानी रहनेछ । १४० किलोमिटर हुने भनिएको सो लाइनको लम्बाइसमेत घटेको छ । त्यस आधारमा लगानी पनि रू. १ अर्ब कम लाग्ने देखिएको छ ।
नेपालतर्फको अमेरिकी सहयोग परियोजनाले निर्माण गर्ने भनिएको स्थानमा समेत १८ किलोमिटर प्रसारण लाइन प्राधिकरण आफैले निर्माण गर्ने भएको छ । भारततर्फको कुल १२० किलोमिटरमध्ये ९६ किलोमिटर मात्र निर्माण हुने भएको छ । यस्तै लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पनि प्रक्रिया शुरू गरिने भएको छ । (रासस)
