डेथ भ्याली : पृथ्वीमा हालसम्मकै उच्च तापक्रम मापन

इन्भेष्टोपेपर । भाद्र ०२, २०७७ 

अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा पृथ्वीमा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ। आइतबार त्यहाँको फरनेस क्रिकमा १३० डिग्री फरेनहाइट अर्थात् ५४.४ डिग्री सेन्टिगे्रड मापन गरिएको हो। उक्त तापक्रमलाई अमेरिकी राष्ट्रिय मौसम सेवाले प्रमाणित गर्ने भएको छ।

अमेरिकाको पश्चिमी तटमा आएको ताप लहरकै बीचमा उक्त तापक्रमले नयाँ कीर्तिमान बनाएको हो। त्यहाँ यस साता अझै तापक्रम बढ्ने अनुमान गरिएको छ। यही कारणले गर्दा शनिबार त्यहाँको बिजुली बिग्रिएर काम गर्न छाडेपछि क्यालिफोर्नियामा दुई दिनका लागि ब्ल्याकआउट नै गरिएको थियो।

यसअघि सन् २०१३ मै डेथ भ्यालीमा सर्वाधिक तापक्रम १२९.२ डिग्री फरेनहाइट अर्थात् ५४ डिग्री सेन्टिग्रेट मापन गरिएको थियो। एक शताब्दीअघि डेथ भ्यालीमा १३४ डिग्री फरेनहाइट अर्थात् ५६.६ डिग्री सेन्टिग्रेट तापक्रम मापन गरिएको बताइए पनि उक्त विषय विवादित छ। गर्मी महिनामा मापन गरिएका अन्य तापक्रमसँगै यो तापक्रम पनि गलत भएको केही आधुनिक मौसम विशेषज्ञले विश्वास गरेका छन्। मौसम इतिहासकार क्रिस्टोफर बुर्टले सन् २०१६ मा गरेको विश्लेषणअनुसार सन् २०१३ मा उक्त क्षेत्रमा मापन गरिएका अन्य तापक्रम डेथ भ्यालीको हालको तापक्रमसँग मिल्दोजुल्दो देखिन्न।

ट्युनिसियामा १३१ डिग्री फरेनहाइट अर्थात् ५५ डिग्री सेन्टिग्रेट तापक्रम मापन गरिएको थियो। तर बुर्टले उक्त मापनका साथै औपनिवेशिक युगका बेला अफ्रिकामा मापन गरिएका अन्य तापक्रममा गम्भीर विश्वसनीयताका मुद्दा रहेका बताए। हालको ताप लहर दक्षिण पश्चिममा एरिजोनादेखि उत्तर पश्चिममा वासिङटन राज्यसम्म फैलिएको छ। सोमबार र मंगलबार यो उच्चतम् बिन्दुमा पुग्ने अनुमान गरिएको छ। साताका अन्य दिनमा यो बिस्तारै घट्दै गए पनि आगामी १० दिनसम्म चरम गर्मीको अवस्था रहनेछ।

क्यालिफोर्नियामा तापक्रम बढ्दै जाँदा शनिबार लासेन काउन्टीमा आगोको ठूलो तुफान (फायरनाडो) देखिएको थियो। क्यालिफोर्नियाको राज्यको शक्ति व्यवस्थापन गर्ने निकाय स्वतन्त्र प्रणाली अपरेटर (सीआईएसओ)ले यसलाई तेस्रो चरणको आपत्काल घोषणा गरेको छ।

त्यहाँका मानिसले ऊर्जालाई वातानुकुलनको लागि प्रयोग गर्ने भएकाले यस क्षेत्रको धेरै शक्ति सौर्य र वायु ऊर्जामा निर्भर रहन्छ। ताप लहरको बेलामा पावर ग्रिड तनावग्रस्त भई पूर्ण रूपमा जोखिममा पर्छ। राज्यको मागको लागि बिजुलीको व्यवस्था गर्न र पूर्ण सटडाउन खोक्न अधिकारीहरूले ब्ल्याकआउटलाई ऊर्जा नियन्त्रण र संरक्षणका लागि प्रयोग गरिरहेका छन्।

ताप लहरबाट मौसमसम्बन्धी अन्य कुनै पनि घटनामा भन्दा बढी मानिसको ज्यान जान सक्ने अनुमान अमेरिकाको रोग नियन्त्रण तथा बचावट केन्द्रले गरेको छ। विश्व स्वास्थ्य संगठनले पनि अत्यधिक तापक्रम बढ्नाले श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, मिर्गौला रोग आदि हुन सक्ने जनाएको छ। (बीबीसी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *