गोसाइँकुण्डको पर्यटन पुनः लयमा, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो

इन्भेष्टाेपेपर । कार्तिक २६, २०८३

रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै क्रमशः लयमा फर्किन थालेको हो ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट प्रभावित पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको बताउनुभयो। उहाँका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा अन्य साना व्यवसायीलाई राहत पुग्न थालेको छ ।

“बाढीपछि केही समय पर्यटकीय गतिविधि ठप्पजस्तै भएको थियो । अहिले बाटोघाटो सहज बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्,” अध्यक्ष तामाङले भन्नुभयो । गाउँपालिकाले पदमार्गको मर्मतसम्भार तथा पर्यटकको सुरक्षा र सहजताका लागि आवश्यक समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।

लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बाढीपछि अवरुद्ध भएको आवागमन सहज भएसँगै गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन नियमित हुन थालेको बताउनुभयो । निकुञ्जले यस क्षेत्रको प्राकृतिक वातावरण र जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले सडक तथा पदमार्गको अवस्था सुधार हुँदै गएपछि गोसाइँकुण्ड आउने तीर्थयात्री र पदयात्रीको सङ्ख्या बढ्न थालेको बताउनुभयो । बाढीले बाटोघाटोमा क्षति पुर्‍याएपछि केही समय पर्यटकीय गतिविधि प्रभावित भएको उहाँको भनाइ छ ।

स्थानीय होटल व्यवसायी सन्तोष घलेका अनुसार पछिल्लो समय गोसाइँकुण्ड पुग्ने आन्तरिक पर्यटक र युवापुस्ताको सङ्ख्या बढ्दै गएको छ । पहिले जनैपूर्णिमा र गङ्गादशहराको अवसरमा मात्र तीर्थयात्रीको बढी चहलपहल हुने गरेकामा अहिले वर्षभरिजसो पदयात्री र घुमफिरका लागि आउने पर्यटक देखिन थालेका उहाँले बताउनुभयो ।

पदयात्रा मार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा र आधारभूत पूर्वाधार विकासमा ध्यान दिन सके यस क्षेत्रको पर्यटनले स्थानीयको जीविकोपार्जनसँगै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुर्‍याउने व्यवसायी घलेको भनाइ छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा गोसाइँकुण्ड गाउँपालिका–६ मा पर्दछ । करिब १३ दशमलव ८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डको लम्बाइ ६२५ दशमलव ५५ मिटर, चौडाइ ३०२ मिटर र गहिराइ २६ मिटर रहेको छ । कुण्डमा करिब १४ लाख ७२ हजार घनमिटर पानी रहेको बताइन्छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र गोसाइँकुण्डको धार्मिक महत्त्व प्राचीनकालदेखि रहँदै आएको छ । हिन्दू धर्मग्रन्थअनुसार समुद्र मन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि डाहा शान्त पार्न भगवान् शिवले त्रिशूल प्रहार गरी पहरा खोपेर पानी निकालेको र त्यही पानीबाट कुण्ड बनेको जनविश्वास छ । त्रिशूल प्रहारबाट पानी निस्किएको विश्वासका आधारमा यस क्षेत्रलाई त्रिशूलधारासँग पनि जोडेर हेर्ने गरिन्छ ।

स्थानीय समुदायमा गोसाइँकुण्डलाई विभिन्न नामले चिनिन्छ । तामाङ समुदायले ‘ग्यो’ वा ‘छोकर’, शेर्पा समुदायले ‘घ्यो’, तिब्बती समुदायले ‘छो’ र नेवार समुदायले ‘शिलु’ भन्ने गरेका छन् ।

गोसाइँकुण्ड आसपासमा भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायत अन्य कुण्ड रहेका छन् । यस क्षेत्रको ऐतिहासिक अमरसिंह गुफा र स्थानीय तामाङ समुदायको मौलिक संस्कृति पनि पर्यटकका लागि आकर्षणका विषय हुन् ।

गोसाइँकुण्ड क्षेत्रको पारिस्थितिकीय महत्त्वलाई ध्यानमा राख्दै विसं २०६४ असोज ५ गते ९सन् २००७ सेप्टेम्बर २३० रामसार सूचीमा सूचीकृत गरिएको हो । यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृग र हिमाली थारलगायत वन्यजन्तु तथा लालीगुराँस, सुनाखरी र अन्य हिमाली वनस्पति पाइन्छन् ।

गोसाइँकुण्ड नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यस क्षेत्रले हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गलाई समेत जोडेको छ। विशेषगरी जेठ–असारमा पर्ने गङ्गादशहरा र साउन–भदौमा पर्ने जनैपूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । बालाचतुर्दशीमा पनि विशेष धार्मिक अनुष्ठान हुने गरेको रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *