नेपाल टेलिकम र प्याब्सनबीच सम्झौता सम्पन्न
इन्भेष्टोपेपर । भाद्र १६, २०७७
नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराईरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा कम्पनी र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता सम्पन्न भएको छ ।
हिजो भदौ १५ गते सम्पन्न भएको सम्झौता बमोजिम मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराईरहेको न्यूनतम मुल्यको ‘ह्याप्पीलर्निङ प्याक’ ( Happy Learning Pack) सहज रुपले प्रयोग गर्न सक्नेछन् ।
सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनको तर्फबाट उपाध्यक्ष एवं ई–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गर्नुभएको हो ।
कम्पनी र विश्वविद्यालय अनुदानआयोगबीच यस अघि नै सम्झौताभई मुलुकका विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसहरुका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई उपलब्ध गराइएको ‘ह्याप्पीलर्निङ प्याक’आजैका मितिदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकहरुका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो ।
सो प्याकेजका प्रयोगकर्ताले रु. ३१५।- मा २४ जीबी र रु. ५००।- मा ३५ जीबी डाटा प्राप्तगर्न सक्नेछन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नकालागि र बाँकी ४ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।
यसैगरी ३५ जीबीडाटाप्याकेजमा ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगलमिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।
ह्याप्पीलर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्तहुने कुनै पनि समयमा प्रयोग गर्न सकिने छ । यीदुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।
सो सम्झौता अनुसार नेपाल टेलिकमको ‘ह्याप्पीलर्निङ प्याक’ प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयहरुलाई अनुरोध सहितको जानकारी पठाउने छ । जानकारी प्राप्त भएपछि विद्यालयहरुले उक्त प्याकेज प्रयोग गर्नकालागि आफ्ना विद्यार्थीहरुको मोबाइल नम्बरको सूची edupack@ntc.net.np मा इमेल मार्फत पठाउनु पर्नेछ ।
यसका साथै विद्यार्थीहरुले कलेजको सहायता बिना नै आफै नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा गएर आवश्यक विवरण लेखी ह्याप्पीलर्निङ प्याक लिनकालागि रजिष्ट्रेसन गर्न सक्नेछन् ।
ह्याप्पीलर्निङ प्याक उपयोग गरी विद्यालय, विश्वविद्यालय र शैक्षिक संस्थाहरुमा आबद्ध रहनु भएका ग्राहकवर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।
