बडादशैंँका अवसरमा कतै पनि बत्ती ननिभोस् – ऊर्जामन्त्री पुन

इन्भेष्टाेपेपर । कार्तिक ०८, २०७७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालीको महान् चाड बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिनु भएकाे हाे ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग आज बैठक आयोजना गरी मन्त्री पुनले उक्त निर्देशन दिनुभयाे ।

 “दशैंका बेला कहीँं पनि विद्युत् काटिने समस्या नआओस्”, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भन्नुभयाे, “मलाई विश्वास छ, ग्राहकबाट विद्युत् प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन ।”

 प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टोली रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयाे । उहाँले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गर्नुभयो । “जहाँ समस्या आउँछ, त्यहाँ तत्काल समाधान गराउनूस्”, निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भन्नुभयाे, “त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निर्णय गर्नुपर्ने भए मलाई खबर गर्नुस् ।”

मन्त्री पुनले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत चैतमा लकडाउन घोषणा गरेलगत्तै प्राधिकरण सञ्चालक समितिले भारप्रेषण केन्द्रसहित संवेदनशील निकायका प्राविधिक कर्मचारीलाई आइसोलेशन वा क्वारेन्टिनमा राखेर काम गराउने निर्णय गरेको स्मरण गर्दै पूर्वतयारीकै कारण विद्युत् सेवा प्रवाह प्रभावित नभएकामा खुशी व्यक्त गर्नुभयाे ।

“भारप्रेषण केन्द्र, नो लाइट र प्राधिकरणको मुख्यालयमा महामारी फैलिए कसरी प्रणाली जोगाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो”,  मन्त्री पुनले भन्नुभयाे, “ सञ्चालक समितिले योजनाबद्ध रुपमा आफ्नै आइसोलेशन र क्वारेन्टिन बनाउने निर्णय गरेका कारण समुदायमा व्यापक रुपमा कोरोना महामारी फैलिँदासमेत प्राधिकरणको सेवा अवरुद्ध भएको छैन ।”

महामारीका कारण ९० लाख विद्यार्थीले घरबाटै अनलाइन कक्षा लिइरहेको र तीमध्ये कतिपय परीक्षामा समेत सामेल भइरहेकाले विद्युत् सेवा अनियमित हुँदा उनीहरुको भविष्यमा के असर पर्छ भन्नेबारे सोचेर काम गर्नुपर्ने मन्त्री पुनको भनाइ थियो । उहाँका अनुसार बडादशैं सकिएपछि तिहारका लागि पुनः अर्को बैठक बसेर योजना तय गरिने छ  ।  

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले राष्ट्रिय प्रणालीमा पर्याप्त मात्रामा विद्युत् उपलब्ध रहेको जानकारी दिँदै विद्युत् सेवा नियमित गराउनका लागि इमान्दारीपूर्वक काममा खटिन प्राधिकरणका सबै तहका कर्मचारीलाई आग्रह गर्नुभयाे ।

 प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले कोरोना महामारीका कारण उद्योगहरु पूर्ण क्षमतामा नचलेका कारण विद्युत् मागको चाप गत वर्षको यही समयका तुलनामा कम रहेको जानकारी दिनुभयाे । माग कम रहेको तथा वितरण र प्रसारणको अवस्था राम्रो रहेकाले चाडपर्वका समयमा विद्युत् सेवा अनियमित हुने कुनै सम्भावना नरहेको कोइरालाको भनाइ थियो ।

भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईले हाल प्राधिकरण र निजी क्षेत्रको गरी एक हजार ११० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा रहेको र माग भने सातदेखि आठ सय मेगावाटसम्म मात्र रहेको बताउनु भयाे । विद्युत् पर्याप्त रहेकाले सेवा अनियमित हुने कुनै सम्भावना नरहेको भट्टराईले स्पष्ट पार्नुभयाे । प्राधिकरण, प्रसारण निर्देशनालयका प्रमुख चौधरीले प्रणालीमा कुनै समस्या नरहेको जानकारी दिनुभयाे । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *