कविता : प्रश्नोत्तर
— महाकवि लक्ष्मीप्रसाद देवकोटा
‘के हो अहो ! अमृत
त्यो सुरदेव पान ?’
‘सच्चा कमाइ गरिखानु भनेर जान ।’
‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?
‘आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।’
‘पाइन्न शान्ति किन हो
? कुन ठाउँ मिल्छ ?’
‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।’
‘देखिन्छ ईश कुन मन्दिरमा पसेर ?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।’
‘यस्तो रहस्यमय जीवन
बुझ्नलाई,
जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?’
‘फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक
फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।’
‘कर्तव्य के छ जनको,
यति छन् विरोध ?’
‘नक्षत्र हेर नभमा, दिलसाथ सोध !’
‘के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु ?’ ‘उडि छुनु चन्द्र एक ।’
