ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको शुभारम्भ
इन्भेष्टाेपेपर । कार्तिक २२, २०७७
काठमाण्डाैं । आज राजधानीमा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको शुभारम्भ गरीएकाे छ । ट्राफिक नियमबारे जनचेतना जगाउन माइक समातेका डमी प्रहरीले स्पिकरमा रेकड गरिएका गीत बजाउन थालिएको हाे ।
अभियानको शुभारम्भ गर्नुहुँदै पाेखरेलले कार्यक्रममा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानमा सहयोग गर्नुहुने वरिष्ठ कलाकारहरु, कलाकार र समाजसेवीहरूलाई सम्मान तथा धन्यवाद दिदैं ट्राफिक नियम उलंघन गर्ने कारण पहिचान गरी त्यसको स्थायी समाधान खोज्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकारहरु मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, लगायत दीपाश्री निरौला, जितु नेपाल र काठमाडौ महानगरपालिकाका शहरी सुव्यवस्थापन विभागका प्रमुख, हरिबहादुर कुँवरले आ-आफ्ना मन्तव्य राख्नुभएको थियो ।
याे कार्यक्रम काठमाडौ महानगरपालिकाको सहकार्यमा शुरूवात गरिएकाे हाे । अब उपत्यकाका विभिन्न चोकहरुमा सांगीतिक डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउन, नागरिकलाई सचेत गराउन र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले कार्यक्रम सुरुवात गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताउनुभएको छ ।
यस कार्यक्रममा सामाजिक अभियन्ता, पत्रकार लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेकाे थियो । ट्राफिक प्रहरीले ट्राफिक सचेतनासम्बन्धी नृत्य समेत प्रस्तुत गरेका थिए ।
