गीत : काँडै जस्तो लाग्छ
— हृदय लेकाली (राम बस्नेत)
समयले फाँट पनि डाँडै जस्तो लाग्छ
समाउँदा फूल पनि काँडै जस्तो लाग्छ।
उकालीमा चढूँभन्दा झरुँ जस्तो लाग्छ
ओरालीमा झरुँभन्दा मरुँ जस्तो लाग्छ
साथ दिन मन पनि टाढै जस्तो लाग्छ
समाउँदा फूल पनि काँडै जस्तो लाग्छ।
कोशी पारि मन भयो तन रह्यो वारि
कल्पनाको फूलबारी भयो सिस्नोघारी
आँसु बग्ने परेली नि घाँडै जस्तो लाग्छ
समाउँदा फूल पनि काँडै जस्तो लाग्छ।
सिमसार मन भयो घामदेखि टाढा
आफन्तका चोट सधै भए खत गाढा
अस्ताउँदा घाम पनि चाँडै जस्तो लाग्छ
समाउँदा फूल पनि काँडै जस्तो लाग्छ।
समयले फाँट पनि डाँडै जस्तो लाग्छ
समाउँदा फूल पनि काँडै जस्तो लाग्छ।
