राजस्व छलि गर्ने २८ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर
इन्भेष्टाेपेपर । पुष १८, २०७७
काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले नक्कली भ्याट बिलको कारोबार गर्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
राजस्व छलीमा संलग्न सर्लाही जिल्ला स्थायी घर भई पद्म कोलनी सीतापाइला काठमाडौं बस्ने रामकिशोर प्रसादसहित २८ जनाबाट सो परिणामको राजस्व छली भएको विभागले जनाएको छ ।
नक्कली भ्याट बिल कारोबारी प्रसादले मोहन ट्रेड इन्टरनेसनललगायत विभिन्न २६ वटा फर्म सञ्चालन गरी यस्तो अवैध धन्दा चलाउने गरेको विभागको अनुसन्धानबाट खुलेको हो ।
यस्तो अवैध धन्दामा लागेका प्रसादले आर्थिक वर्ष २०७१-७२ देखि आव २०७४-७५ सम्ममा भ्याटतर्फ ४३ करोड, ८१ लाख ८० हजार ३७८ रुपैयाँ र आयकरतर्फ ८६ करोड ५६ लाख १ हजार ७८५ रुपैयाँ राजस्व छली गरेका थिए । यसैगरी सोही अवधिमा उनले लाभांश करतर्फ पनि २ करोड ८ लाख ३० हजार ४०२ रुपैयाँ छली गरेका थिए ।
अनुसन्धानको क्रममा सबुत प्रमाण भेटिएको भन्दै विभागले अब उनीहरूविरुद्ध कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गराउनसमेत मागदाबी गरेको छ । उनीविरुद्ध राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन–२०५२ अनुसार कारबाही हुने विभागले जनाएको छ । याे समाचार राजधानी दैनिकमा प्रकाशित भएकाे छ ।
