जुम्ल्याहा दाजुभाइ जसकाे जन्म मात्र हैन मृत्यु पनि एकै राेगले संगसंगै भयाे
इन्भेष्टोपेपर । जेष्ठ ४, २०७८
भारतमा एक जना जुम्ल्याहा दाजु भाईको जन्म मात्र हैन मृत्यु पनि संगसंगै भएकाे छ । भारतमा महामारीकाे रूपमा फैलिरहेकाे काेराना भाइरसकाे लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोराको ज्यान गएको हो ।
उनिहरुलाई अप्रिल २४ मा ज्वरो आएको थियो । सन् १९९७ मा जन्मेका उनिहरु दुबै आइटी इन्जिनियर थिए । ज्वरो आएको अघिल्लो दिन उनिहरुको वर्थडे थियो । राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएकी थिइन्।
जुम्ल्याहा यी दाजुभाइले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने। दुबै जना हैदरावादमा काम गर्थे। केही समयपछि उनीहरू काम गर्न विदेश जाने सोचमा रहेको पनि बताईएको छ । बुवा राफेलका अनुसार २४ औं जन्मदिन मनाएका उनीहरूलाई आएको ज्वरो निको नभएपछि मे १ मा उनीहरूलाई अस्पतालमा भर्ना गरिएको थियो ।
शरीरमा अक्सिजनको मात्रा निकै कम भएको दुबै जना दाजुभाईलाई आनन्द अस्पतालको कोभिड वार्डमा उपचार शुरु भएको थियो । अचानक मे १३ मा राफेलकी पत्नी सोजालाई अस्पतालबाट फोन आएर उनका एक जना छोराको कोरोनाले मृत्यु भएको जानकारी दिईएको थियो ।
राफेललाई एक जना छोराको मृत्युको खबर सुनेपछि अब अर्को छोरा पनि बाँच्दैन भन्ने लागेको थियो । किनकी उनीहरू छुट्टिनै नसक्ने थिए । त्यस्तैमा केही घन्टा नबित्दै सोही अस्पतालमा उपचार भइरहेका अर्का छोराको पनि मृत्यु भयो।
राफेलले भने – ” कोरोनाले हाम्रो परिवार ध्वस्त बनाइदियो। मलाई थाहा छैन भगवानले किन हामीजस्ता मान्छेलाई नै यस्तो गर्छ, मलाई आशा छ दाजुभाइ अहिले पनि सँगै होलान्।”
— एजेन्सीकाे सहयाेगमा
