कृषि विकास बैंकले ल्यायो अनलाईन डिम्याट खाता सहितका धेरै सुविधा
इन्भेष्टोपेपर । असार २६, २०७८
काठमाण्डाैं । कृषि विकास बैंकले असार २५ गते शुक्रबारबाट नयाँ सेवा सुचारु गरको छ । बैंकले अनलाईनका माध्यमबाट एकै समयमा धेरैभन्दा धेरै सुविधा प्रवाह गर्ने उदेश्यले खाता खोल्ने प्रणालीको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरी सेवा सुभारम्भ गर्नु भएको हाे ।
यस सेवा अन्तरगत बैंकमा खाता भएका ग्राहकहरुले विना झण्झट अनलाईनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सि.आर.एन, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन् । बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेश बाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरुको लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको सुरुवात गरेको हो ।
यसका साथै बैंकमा खाता नभएका ग्राहकहरुले समेत देश विदेश बाट अनलाईनका माध्यमबाट समेत चल्ती, वचत खाता सहित सवै सेवाहरु अनुरोध गर्न सक्ने छन् भने सेवा उपयोगका लागि बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । कृषि विकास बैंकसँग जोडिन यस प्रकारका सेवाहरुले थप सहजता प्रदान गर्ने विश्वास बैंक व्यवस्थापनले लिएको छ ।
यस प्रकारको सेवा सुचारु भए पश्चात स्वचालीत रुपमा इमेल तथा एसएमएसका माध्यमबाट ग्राहकलाई जानकारी गराउने व्यवस्था यो प्रणालीमा रहेको बैंकले जनाएकाे छ । यो सेवा उपयोगका लागि ३६५ दिन २४ घण्टा नै https://onlineaccount.adbl.gov.np/ मार्फत अनुरोध गर्न सक्ने व्यवस्था गरेको छ । यो सेवा पश्चात वैक र ग्राहकवीचको सम्वन्ध थप दरिलो हुने विश्वास बैंकले लिएको छ ।
यस सेवा पश्चात सेयर कारोवारमा सहजता प्रदान हुने, बैंकमा खाता भएका ग्राहकहरुले थप ग्राहक पहिचान विवरण पेश गर्नु नपर्ने, नावालकहरुको खाता खोल्न सहजता हुने, खाता खोल्न बैंक समक्ष पुग्नु नपर्ने, मोवाईल तथा इन्टरनेट बैंकिङ्गका लागि आवेदन दिन सकिने छ । यसरी एकै निवेदनबाट बहुसेवामा पहुँच प¥याउन सकिने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो रहेको छ ।
उक्त सेवाको सुभारम्भ कार्यक्रममा बैंक उप–महाप्रबन्धकहरु क्रमशः प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, ध्रुबचन्द्र गौतम र दिर्घबहादुर अर्याल, तथा बैंकका प्रबक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन बैंकका शाखा प्रमुख विनोद कोईराला र ध्रुव पौडेलले संयूक्त रुपमा गर्नु भएको थियो ।
