ब्राजिललाई हराउँदै कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई
इन्भेष्टोपेपर । असार २७, २०७८
साविक विजेता ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोलले हराउँदै २८ वर्षपछि अर्जेन्टिना च्याम्पियन बनेको हो ।
निकै उत्तेजकरूपमा भएकाे खेलमा अर्जेन्टिनाको जितमा २२ औँ मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै निर्णायक बन्यो । सो गोलका लागि रोड्रिगो डी पलले लामाे पास दिएका हुन् । वर्तमान समयका सर्वोत्कृष्ट खेलाडीका रुपमा लिइने मेस्सीले राष्ट्रिय टिमबाट पहिलोपटक प्रमुख उपाधि जितेका हुन् ।
३४ वर्षका मेस्सीले क्लब र व्यक्तिगत तहमा हाँसिल गर्न पर्ने सबै सफलता पाए पनि लामो पर्खाई र प्रयासपछि राष्ट्रिय टिमको कसर पूरा गरेका हुन् । सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फुटबल जिते यता कुनै प्रमुख उपाधि जित्न सकेको थिएन । साबिक विजेता ब्राजिललाई उसकै मैदानमा हराएर अर्जेन्टिना क्षेत्रीय च्याम्पियन बनेको हो ।
दश पटक स्पेनिस ला लिगा, चार पटक च्याम्पियन्स लिग र छ पटक फिफाको बलून डे अरको उपाधि दिलाउन प्रमुख राेल खेलेका मेस्सीले अर्जेन्टिनाकाे लागि प्रमुख अन्तर्राष्ट्रिय स्पर्धा जित्न नसक्दा उनको प्रभाबलाई लिएर आलोचना हुँदै आएको थियो ।
खेलकाे समाप्तिसंगै मेस्सीलाई टोलिका सदस्यहरुले खेल मैदानमा उचाल्दै खुशी आदान प्रदान गरिरहँदा ब्राजिली नेयमार भने फिल्डमा घुँडा टेकेर रोएको दृश्य निकै भावुक पल रहेकाे थियाे ।
यो जितसँगै अर्जेन्टिनाले कोपा अमेरिका सर्वाधिक धेरै जित्ने उरुग्वेको कीर्तिमानमा बराबरी पनि गरेको छ । उरुग्वे समान अर्जेन्टिनाको कोपा अमेरिका उपाधि संख्या १५ पुगेको छ ।
