भिसा प्रक्रिया नमिलेका कारण सन्दीपले ‘द हन्ड्रेड क्रिकेट’ खेल्न पाएनन्

इन्भेष्टोपेपर । श्रावण ०६, २०७

काठमाडौं ।   नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने भएका छन्। भिसा प्रक्रिया नमिलेका कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेड क्रिकेट गुमाउने भएका हुन्।

टिएर फाइभ भिसामा बेलायत पुगेका सन्दीपले त्यो भिसामा द हन्ड्रेड खेल्न नपाउने भएका हुन्। द हन्ड्रेड खेल्न नपाउने भएपछि उनी एक/दुई दिनमै नेपाल फर्किने सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए। ‘भिसाको समस्याका कारण सन्दीपले द हन्ड्रेड खेल्न नपाउने भएका छन्’, रमणले भने, ‘सन्दीप अब एक/दुई दिनमै नेपाल फर्कने छन्। टिकटलगायत प्रक्रियागतका कामहरू भइरहेको छ।’ 

एक सय बलको प्रतियोगितामा सहभागी हुन सन्दीप गत असार २५ गते बेलायत पुगेका थिए। त्यहाँ पुगेर उनी बेलायती सरकारद्वारा सञ्चालन गरिएको क्वारेन्टाइनमा बसेका थिए। उनको क्वारेन्टाइनको अवधि मंगलबार सकिँदै थियो। आइतबार इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले द हन्ड्रेडका लागि भिसा मान्य नभएको भन्दै सन्दीपलाई बेलायत छाड्न निर्देशन दिएको हो। सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट्स लेख्दै  यसको पुष्टि गरेका छन्।

सन्दीपका व्यवस्थापक सिवाकोटीले भाइटालिटी टीट्वेन्टी ब्लास्ट र द हन्ड्रेडका लागि टिएर फाइभ भिसा अप्लाई गर्न भने पनि अहिले किन त्यो भिसाले मान्यता पाएन भनेर आधिकारिक रुपमा कसैले पनि जानकारी नदिएको बताए। ‘उनीहरूकै निर्देशन बमोजिम हामीले टिएर फाइभ भिसा अप्लाई गरेका हौं। भाइटालिटी टीट्वेन्टी ब्लास्ट र द हन्ड्रेडका लागि एउटै भिसा मान्य हुने भनिएको पनि थियो’, सिवाकोटीले भने, ‘अहिले के कारणले त्यो भिसालाई मान्यता नदिएको हो थाहा भएन।’

भिसा ढिलो आएका कारण सन्दीपले यसअघि भाइटालिटी टीट्वेन्टी ब्लास्ट क्रिकेट पनि गुमाएका थिए। भाइटालिटी ब्लास्टमा सन्दीप वोर्सेस्टरसायर र्‍यापिड्समा अनुबन्धित भएका थिए।

टिएर फाइभ बेलायत सरकारले सीमित समयका लागि दिने वर्किङ भिसा हो। सरकारबाट मान्यता प्राप्त कार्यक्रमहरूमा सहभागी भएर सीमित अवधिका लागि काम गर्नेहरूले यो भिसा पाउने गरेका छन्। 

सन्दीपले बेलायत पुगेर पनि प्रतियोगिता गुमाउनु पर्दा निकै दुःख लागेको बताएका छन्। ‘म ओभल इन्भिन्सिबलबाट खेल्न निकै उत्सुक थिएँ। निकै प्रतीक्षाका साथ हेरिएको प्रतियोगिता गुमाउनु पर्दा अत्यन्त मर्माहित बनेको छु’, सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्। (आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *